काठमाडौं–आफ्नै सहकर्मीको हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई घटनाको ११ वर्षपछि शुक्रबार पक्राउ गरेको छ।
ललितपुर गोदावरी नगरपालिका–१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भीमफेदी नगरपालिका–८ घर भएका ३६ वर्षीय डिलबहादुर योञ्जनको हत्या अभियोगमा मकवानपुर भीमफेदी ननगरपालिका–८ का ५१ वर्षीय भीमसेन घागा मगर र सोही ठाउँका ३० वर्षीय रामकृष्ण चुनी मगर पक्राउ परेका हुन्।
उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठाबाहिर कोदालीको बिँडले हानी, कुटपिटसमेत गरी घाईते बनाएकोमा उपचारका क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो ।
उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनापश्चात् मामा भाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँदिल्ली गएका थिए। त्यहाँ उनीहरुले आफ्नो वास्तविक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भीमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुर पठाइएको व्यूरोले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।