काठमाडौं– जारी स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले पहिलो हार ब्यहोरेको छ। शनिबार राति भएको खेलमा रियल नवप्रवेशी क्लब क्याडिजसँग १–० गोल अन्तरले स्तब्ध बनेको हो।
रियल मड्रिडलाई उसैको मैदानमा पराजित गर्दै क्याडिजले शनसनीपूर्ण जित निकालेको हो। क्याडिजको जितमा एन्थोनी लोजानोले गोल गरे। ७५ प्रतिशत बल पोजिसन आफ्नो पकडमा पारेपनि रियलले क्याडिजमाथि जित निकाल्न सकेन। तुलनात्मक रुपमा रियलको फरवार्ड र मिडफिल्ड चल्न सकेन।
खेलको १६ औं मिनेटमा एन्थोनीलेगोल गर्दै क्याडिजलाई १–० गोलको अग्रता दिलाएका थिए। पहिलो हाफमै लिएको अग्रतालाई दोस्रो हाफमा पनि कामयै राख्दै क्याडिजले बलियो टिम रियललाई पराजित गरेको हो।
यो जितसँगै क्याडिज लिगको तेस्रो स्थानमा उक्लिएको छ। क्याडिजले ६ खेलमध्ये तीन खेलमा जित, दुई खेलमा हार र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ। पाँच खेलबाट तीन खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेलेको रियल मड्रिडको १० नै अंक छ। पराजित रियल मड्रिड अंक तालिकाको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।