काठमाडौं–शनिबारदेखि दसैं सुरु हुँदैछ। काठमाडौंलगायत सहरी क्षेत्रमा कामकाज तथा अध्ययनका लागि बस्दै आएकाहरु दसैं मनाउन गाउँ जाने गरेका छन्। यस्तो अवस्थामा गाउँ जाने लाखौं यात्रुलाई गन्तव्यमा पुर्याउन अग्रिम टिकट बुकिङ खुल्ने गरेको थियो। तर यो वर्ष कोरोना संक्रमणका कारण शुक्रबारसम्म अग्रिम टिकट बुकिङ खुलेको छैन।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी तथा सरोकारवालाहरुसँग विभिन्न चरणमा छलफल गरेको भए पनि अग्रिम बुकिङ खुलाउने विषयमा निर्णय भएको छैन। यात्रुको चाप हेरेर आवश्यकता परे अग्रिम टिकट बुकिङ खुल्न सकिने यातायात व्यवस्था विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए।
‘तत्कालै यात्रुको चाप कम देखिएको र यात्रुका लागि पर्याप्त बस भएकाले अग्रिम टिकट बुकिङ खुल्ला नगरिएको हो,’ उनले भने, ‘भोलिदेखि दसैं लाग्दैछ। यात्रुको चाप बढ्यो भने केही दिनका लागि बुकिङ खुल्ला गर्न सकिने छ।’ विभागले व्यवसायीहरुलाई आवश्यकता परे बुकिङ खुल्ला गर्न तयारी अवस्थामा रहनुस भनेको उनले बताए।
बस पर्याप्त भएकाले ट्राफिक प्रहरी र बसपार्क अप्रेटरसँगको कुराकानीका आधारमा अग्रिम बुकिङ नखोलिएको भुसालले बताए। लामो र मध्यम दूरीका यात्रुका लागि बस पर्याप्त भएको र जान चाहने यात्रुको संख्याका आधारमा विभागले आवश्यक निर्णय गर्ने उनको भनाइ छ।
यो वर्ष माग नै कम भएकाले बुकिङ खोल्न आवश्यक नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए। ‘सरकारले जहाँ हुनुहुन्छ त्यही बसेर दसैं मान्नुस भनेकाले यात्रुमा अन्योलता बढेको छ,’ उनले भने, ‘१ गतेको यात्रु चाप हेरेर हामीले दुई गतेलाई बैठक राखेका छौं।’ तर यो वर्ष कोरोना भाइरसको संक्रमण र सरकारको दोहोरो भनाइका कारण यात्रुमा अन्योल हुँदा बस व्यवसायीमा उत्साह नभएको सिटौलाले बताए।
विगतमा हरेक वर्ष दसैंमा सयौं बस छोटो दुरीबाट लामो तथा मध्यम दुरीमा ल्याइन्थ्यो भने नयाँ बससमेत थपिने गरेको थियो। यो वर्ष नयाँ बस त थपिएनन् नै, भएका बसमा समेत यात्रु नहुने अवस्था आएको महासचिव सिटौलाको भनाइ छ। त्यस्तै उपत्यकालगायत सहरहरुबाट लाखौंको संख्यामा यात्रु आफ्नो जन्मस्थल जाने गरेका थिए।
कोरोना संक्रमणका कारण चैतदेखि गरिएको लकडाउनले गाउँ गएका अधिकांश मानिस सहर फर्किएका छैनन्। आएकाहरु पनि निजी सवारी साधनमै जाने योजनामा छन्। सार्वजनिक सवारीमा कोरोना संक्रमण जोखिम धेरै भएको भन्दै सरकारले नै सकेसम्म सार्वजनिक सवारीमा यात्रा नगर्न भनेको छ। त्यसैले पनि सार्वजनिक सवारी चढ्ने यात्रु कम हुन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।