काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले आफूलाई प्रतिस्पर्धा दिन सक्ने क्लब कार्लो एन्सेलोटीको प्रशिक्षणमा रहेको एभर्टन नै भएको बताएका छन्। प्रिमियर लिगमा लिभरपुल र एभर्टनबीच शनिबार दिउँसो ५ः१५ मा प्रतिस्पर्धा हुँदैछ।
लिगमा एभर्टनले अहिलेसम्मका सबै खेल जितेर शीर्ष स्थानमा ठाउँ बनाइरहेको छ। गएको सिजन विजेता लिभरपुल भने चार खेलमा एक खेल हारेर पाँचौँ स्थानमा छ। गएको डिसेम्बरमा मात्र एभर्टनको प्रशिक्षकका रुपमा आएको एन्सेलोटीले लगातार जित दिलाउन सकिरहँदा उनको शैलीको तारिफ भइरहेको छ।
‘मैले कार्लो एन्सेलोटीको बारेमा के सोच्छु भन्ने कुरा कहिल्यै लुकेको छैन। म उनलाई यहाँभन्दा धेरै सम्मान कति गरौँ। उनी गजवका मान्छे छन्। उनी एभर्टनको प्रशिक्षक भन्दै छन् भन्ने सुन्नेवित्तिकै मेरो प्रतिक्रिया थियो, अब अको गजवको प्रतिस्पर्धी आउने भयो’ क्लोपले भनेका छन्।
एन्सेलोटीले अहिले एभर्टनलाई बलियो टिम बनाइरहेको क्लोपको भनाइ छ। एन्सेलोटी युरोपियन फुटबलमा सफल प्रशिक्षकका रुपमा यसअघि नै दरिइसकेका व्यक्ति हुन्। अहिले उनले एभर्टनमा जे गरिरहेका छन् त्यसमा उनको अनुभवको भूमिका ठूलो छ।
गएको सिजन एभर्टनले १२औँ स्थानमा लिग सकाएको थियो। २०१३–१४ पछिको सिजन एभर्टन सातौँ स्थानबाट माथि जान सकेको छैन। यो सिजन ह्यामेस रोड्रिग्वेज, एलन, अब्डुलाय डुकुरी जस्ता खेलाडीले मिडफिल्ड सम्हाल्दा टिम बलियो देखिएको छ। अग्रपंक्तिमा डोमिनिक कलभर्ट लेविनको शैली पनि प्रशंसायोग्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।