काठमाडौं- क्रोएसिया पठाइदिने भनी ९ जनासँग लाखौं ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सप्तपरीको डाक्नेश्वरी नगरपालिका-६ का २५ वर्षीय मोहम्मद सहजाद आलम र सिन्धुली जिल्ला कमलामाई नगरपालिका-११ का ४३ वर्षीय सुकमान वाइवा छन्। बुधबार उनीहरूलाई कपन र बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।
पक्राउ परेकाले युवालाई ठगी गर्न क्रोएसियाको नक्कली भिसा देखाउने गरेका थिए। नक्कली भिसा देखाएर विश्वासमा पारी उनीहरूले युवालाई प्रलोभनसमेत पारेका थिए। यसरी प्रलोभनमा पारी उनीहरूले प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले ९ जनाबाट २७ लाख ६३ हजार ठगेका प्रहरीले जनाएको छ।
उनीहरूलाई थप अनुसन्धान गरी कारबाही गर्नका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।