काठमाडौं- वाकीटकी बोक्ने र प्रहरीको बर्दीसमेत लगाएर हिँड्ने नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन्। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रामेछापको खाँडोदेवी गाउँपालिका–६ घर भई काठमाडौं टोखा नगरपालिका बाँनियाटार बस्ने २८ वर्षीय गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो।
पेसाले उनी केही समय पहिलासम्म हार्डवेयरको सामान डेलिभरी गर्थे। तर एकाएक दुई वर्षदेखि उनको पेसा परिवर्तन भयो।
पुलिस कटको हेयर स्टाइल। ट्राफिकको युनिर्फम। त्यसमाथि नेमप्लेट पनि। हातमा प्रहरीले बोक्ने सञ्चार सेट अर्थात वाकिटकी। खुट्टामा प्रहरीकै बुट। कुममा कर्डसहितको सिटी। उनी यही रुपमा भेटिन्थे। नचिन्नेका लागि भने उनी सक्कली प्रहरी बनेका थिए।
तर वास्तविकता भने अर्कै थियो। विगत दुई वर्षदेखि उनी नक्कली प्रहरी बनेर होटल रेस्टुरेन्टेबाट रकम असुल्थे। यसरी उनका दुई वर्ष बिते। अन्ततोगत्वा उनी सक्कली प्रहरीको फन्दामा परेका छन्।
‘केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्स-रिसिभर एचटी–२२ई र वाकिटकी सेट बोक्थे। त्यसमाथि प्रहरीको बर्दी,’ महाशाखाका एसएसपी थापाले भने, ‘ट्राफिक प्रहरीको रेनकोट, प्रहरीको टिसर्ट, लगाएर रातको समयमा उनी ‘म प्रहरी हुँ’ भन्दै ठमेलका गल्लीगल्ली चाहर्थे। रेस्टुरेन्थ छिर्थे। रात्रीकालीन व्यवसाय सञ्चालन गर्नेलाई धम्की दिँदै रकम असुल्थे।’
यसरी नक्कली प्रहरी बनेर हैरानी दिने गरेको सूचना महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि प्रहरी अनुसन्धानमा खटिएको थियो। महाशाखाको टोलीले उनलाई बिहीबार बिहान बाँनियाटारबाट पक्राउ गरेको हो। उनले होटल व्यवसायीहरुबाट धम्क्याएर रकम मात्रै अुल्ने होइन विभिन्न व्यक्तिहरुलाई उपल्लो दर्जाका अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध रहेको भन्दै प्रभावमा पारेर आर्थिक लाभ समेत लिने गरेको पाइएको छ। पक्राउ परेका उनलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
उनले प्रहरी मात्रै नभएर अन्य सुरक्षा निकायको पोशाकसमेत दुरुपयोग गरेको पाइएको छ। नेपाली सेनाको पोशाक लगाएका विभिन्न फोटाहरु समेत बरामद भएका छन्।
एअरपोर्टको होल्डिङदेखि प्रहरीको सञ्चार सेट कुराकानीसम्म सुनिने सेट कहाँबाट आयो?
उनीबाट बरामद भएको सञ्चार सेट पर्यटकहरुमार्फत् आएको खुलेको छ। सन् २०१४ जनवरीमा विदेशी पर्यटक सगरमाथा आरोहणका लागि आउने क्रममा खाना बनाउने र चालकको काम गर्ने नेपालीलाई ती सञ्चार सेट दिएको खुलेको छ। तीनै पर्यटकले राख्न दिएको सञ्चार सेट २ वर्षखघि गोविन्द थापाले फुत्काएका थिए। त्यसपछि ती सेटहरुमार्फत नै प्रहरी भन्दै असुली धन्दा नै चलाएको पाइएको छ।
बरामद भएको सञ्चार सेटमा नेपालमा रहेका अन्य सञ्चार सेटको समेत फ्रिक्वन्सी टिप्ने गरेको अनुसन्धानबाट खुलेको छ। जहाँ एअरपोर्टको ग्राउन्ड होल्डिङदेखि प्रहरीको सञ्चार सेटको समेत कुराकानी रिसिभ हुने गर्दथ्यो । तर ट्रान्सिमसन भने हुने थिएन।
के-के भए बरामद?
सिंगापुरमा बनेको केनउड ब्रान्डको १४४ एमएचजेट एफएम ट्रान्सरिसिभर एचटी–२२इ वाकिटकी १ थान, एलिन्को लेखिएको जापनिज सञ्चार सेट १ थान, गोविन्द खड्का लेखिएको नेम प्लेट १ थान बरामद भएको छ। उक्त नेमप्लेट उनले आफ्नो बर्दीमा लगाउने गर्थे।
नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायलका पोसाक, सुरक्षाकर्मीले लगाउने बुट २ जोर, मतदाता परिचयपत्र १ थान, सिठी २ थान, बा ७८ प १६२ नम्बरको मोटसाइकल, लाइसेन्स १ थान, विभिन्न ब्रान्डका बोमाइल ४ थान बरामद गरिएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।