काठमाडौं– मिडिया एलाइन्स नेपाल, नेपाल केवल टेलिभिजन र नेपाल विज्ञापन संघले संयुक्त प्रेस वक्तव्य जारी गर्दै नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड (विज्ञापनरहित) लागू गर्न माग गरेका छन्।
कुनै पनि बहानामा ऐन कर्यान्वयनमा ढिलाई गर्न नहुनेभन्दै अगामी कात्तिक ७ गतेदेखि डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजनहरुको प्रसारणमा क्लिन फिड लागू गर्न माग गरेका हुन्।
ऐनको कार्यान्वयनका लागि विज्ञापन बोर्ड गठन गर्न अत्याबश्यक भएकाले व्यवसायीक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्डको गठन तत्काल गर्नुपर्ने उनीहरुको माग छ।
नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले उठाएको मागको तत्काल सम्बोधन गर्न समेत संयुक्त जारी प्रेस विज्ञप्तीमार्फत् आग्रह गरिएको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले समेत आगामी कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले विज्ञापनरहित प्रसारण गर्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो।
ऐनअनुसार कात्तिक ७ गतेदेखि क्लिन फिड लागू हुने भए पनि इन्डियन ब्रोडकास्ट फोरम, डिस्कभरी नेटवर्क, बिबिसी न्युज, नेपाल केबल टेलिभिजन महासंघलगायतले क्लिन फिड प्रसारणको म्याद थप गरिपाऊँ भन्दै पत्राचार गरेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।