काठमाडौं- नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विहीबार पदभार ग्रहण गरेका छन्। बुधबार मन्त्री नियुक्त भएका उनले बिहीबार राष्ट्रपतिबाट सपथ लिएर अर्थ मन्त्रालय प्रवेश गरेका हुन्।
अर्थ मन्त्रालय प्रवेशपछि दुई सचिवसहित सहसचिवस्तरका कर्मचारी, राष्ट्र बैंकका गभर्नर, नेपाल धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष र तीनजना विभागीय प्रमुखलाई उनले सम्बोधन गरे। करिब ३० मिनेट लामो सम्बोधन गरेका पौडेलले २५ मिनेट अर्थतन्त्रका वर्तमान परिस्थिति, अर्थ मन्त्रालयको भूमिका, कोरोनाको प्रभावलगायतका विषयमा बोले।
त्यसपछि उनले केही राजनीतिक भाषण गरे। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिवसमेत रहेका पौडेलले आफ्नो पार्टीभित्र उत्पन्न हुने समस्याको छाँया अर्थ मन्त्रालयमा पर्न नहुनेमा सचेत गराएका छन्।
'तालमा ढुंगा हान्दा किनारासम्म तरंग उत्पन्न भएजस्तै राजनीतिक घटनाक्रमको तरंग पनि आउने गरेको छ,' उनले भने, 'म तपाईंहरूलाई भन्छु, यो सरकार ५ वर्ष टिक्छ। जम्माजम्मी ५ वर्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।'
उनले समाचार पढेर मात्रै धारणा नबनाउन पनि आग्रह गरेका छन्। 'समाचारमा नुन मसला पनि हालिन्छ, त्यसलाई पढेर धारणा नबनाउनु होला,' उनले भने।
उनले आफ्नो पार्टीभित्रको समस्या नेताहरूको काबु बाहिर नभएको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।