काठमाडौं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मितव्ययिता कायम गर्ने गरी नीतिगत व्यवस्थापनका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। खर्च कम गर्ने र अन्य मन्त्रालयलाई पनि राम्रो सन्देश दिनका लागि मितव्ययिताको नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ।
'म विशेषरूपमा जोड दिएर भन्न चाहन्छु, सुशासन र मितव्ययितामा जोड दिएर काम गर्नुस्,' उनले भने, 'यसले धेरै रकम बचाउँछ भन्ने होइन, तर राम्रो सन्देश दिन सकिन्छ।'
मन्त्री पौडेलले सुशासनमा सम्झौता गर्न नसकिने पनि उल्लेख गरे। 'सुशासनको खिलाफमा कुनै पनि काम कारबाही किञ्चित्, किमार्थ र कहिल्यै पनि हुन सक्दैन भन्ने कुरा आ-आफ्नो ठाउँमा कडाइका साथ लागू गर्नुहोला,' अर्थमन्त्री पौडेलले भने।
पौडेलले वैदेशिक रोजगारीमा गएका धेरै नेपाली स्वदेश फर्किए पनि कामको अभावमा विदेश जान थालेको भन्दै त्यस्ता श्रम शक्तिलाई पुँजी, श्रम र सीप दिएर नेपालमै उत्पादनशील काममा लगाउने गरी काम गर्नुपर्ने बताए। 'मैले जोड दिएर के भन्छु भने, बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा सम्झौता हुँदैन भन्ने कुराको सम्प्रेषण सबै साथीहरूले गरिदिनुहोस्,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।