काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका खेलाडी इडन हाजार्ड चोटमुक्त हुन समय लाग्ने देखिएको छ। एल क्लासिकोसम्म उनी मैदान फर्कने आश गरिए पनि प्रशिक्षक जिनेदिने जिदानले हतार गर्न नहुने बताएका छन्। हाजार्ड पनि कुनै चुनौती नहोस् भन्ने चाहन्छन् र पूर्ण ठीक भएपछि मात्रै मैदान फर्कन चाहन्छन्।
अक्टोबर २४ मा रियल मड्रिडले सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनासँग प्रतिस्पर्धा गर्दैछ। चोटमुक्त भएपछि हाजार्डले आफ्नो पुरानो लय समात्ने विश्वासमा मड्रिड प्रशिक्षक रहेका छन्। यसैले उनलाई कुनै दबाब महसुस हुन नदिने प्रयासमा क्लब लागेको छ।
इंग्लिस क्लब चेल्सीबाट रियल मड्रिडमा आएदेखि नै हाजार्ड चोटका कारण सताइएका छन्। यसैले उनको गएको ११ महिना सुखद हुन सकेको छैन। २०१९ को नोभेम्बर २९ मा लागेको चोटका कारण नै उनी अहिले मैदानबाहिर छन्। अझै उनी कति समय बाहिर रहन्छन् यकिन छैन।
यसैले बार्सिलोनासँगको महत्वपूर्ण खेल आउन समय कम रहँदा उनी फिट हुन चुनौती देखिन्छ। अहिले टिमको अभ्यासमा सामान्य रुपमा पनि हाजार्ड उपस्थित हुन सकेका छैनन्। अहिले बेल्जियम राष्ट्रिय टिमबाट महत्वपूर्ण अन्तर्राष्ट्रिय खेलहरुमा समेत उनी बाहिर नै रहे।
यो सिजन एक मिनेट पनि मैदान जान नपाएका हाजार्डले फिटनेसमा विशेष ध्यान दिनुपर्ने देखिएको छ। ‘हजार्डले अहिले कठिन परिस्थितिको सामना गरिरहेका छन्। आश गरौँ उनी केही दिनमा ठीक हुनेछन् र मैदानमा देख्न पाइनेछ’, प्रशिक्षक जिदानले भनेका छन्, ‘उनी क्लबमा राम्रो योगदान दिन चाहन्छन्। यस्तोमा चोटका कारण बाहिर हुनुपर्दा उनी दुःखी भइहाल्छन्।’
गएको वर्ष नोभेम्बरमा पिएसजीसँगको खेलका बेला चोटग्रस्त भएका हजार्डलाई त्यसबाट बाहिर निस्कन मात्र ६७ दिन लागेको थियो। त्यसपछि फेब्रुअरीमा लेभान्टेसँगको खेलका बेला पनि चोट बल्झिएपछि उनी ७६ दिन मैदान बाहिर रहेका थिए। गएको मार्च ५ मा शल्यक्रिया गरेपछि चोटमुक्त हुने आश गरिए पनि हजार्डको चोट पुनः बल्झिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।