अर्थमन्त्री भएर आएपछि मन्त्रालयको स्वागत ग्रहण गर्दै पौडेल। काठमाडौं- नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफू अर्थ मन्त्रालयमा डुबेर अर्थतन्त्रलाई उकास्ने गरी नयाँ जिम्मेवारीका साथ सिंहदरबार प्रवेश गरेको बताएका छन्। अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै मन्त्री पौडेलले समस्याबाट अर्थतन्त्रलाई माथि उकास्ने गरी आफू मन्त्रालयमा डुब्न चाहेको बताए।
मन्त्रालयका उच्च पदस्थ कर्मचारी, राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्ड र बीमा समितिका अध्यक्षलाई मात्रै सहभागी गराइएको कार्यक्रममा मन्त्री पौडेलले भने, 'अर्थ मन्त्रालयभित्र डुब्ने र अर्थतन्त्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिदृश्यबाट सिर्जित चुनौतीलाई पार लगाउने गरी म यहाँ आएको छु।'
उनले आफू जुन काममा लागेको छ, त्यसमा गहिरोसँग लाग्ने गरेको भन्दै अहिलेको चुनौतिबाट अर्थतन्त्रलाई उकास्न पनि त्यसैअनुसार लाग्ने उल्लेख गरे। 'मैले मन साट्ने भाषामा के राख्न चाहन्छु भने, मेरा कामका सीमा छन्। म लाग्छु त्यहीँ डुब्छु। त्योभन्दा बाहिर पनि संसार छ। त्यहाँ पनि ध्यान दिनुपर्छ भन्नेमा म अलि कम हेक्का राख्छु,' उनले भने, 'जता लाग्यो त्यहीँ डुब्ने बानी छ। म अर्थ मन्त्रालयमा डुब्ने गरी आएको छु।'
पौडेलले आफू एक्लैको पहलले चुनौति सामना गर्न नसकिने भन्दै कर्मचारीलाई त्यसैअनुसार खट्न निर्देशन दिए। 'मलाई राम्रोसँग थाहा छ, सफलताको पुँजी मेरो खल्तीमा छैन, तपाईंहरूको खल्तीमा छ। तपाईंहरूले सफलताको पुँजी झिकेर घुमाउनु भयो भने त्यसबाट उपलब्धि हुन्छ। अन्यथा सफलता टाढा छ,' उनले भने।
उनले कोभिडको निर्देशनमा काम कारबाहीलाई परिभाषित गर्दै अघि बढ्नुपर्ने अवस्था आएको पनि बताए। 'परिस्थिति अत्यन्तै गम्भीर छ। परिस्थितिसम्मत ढंगले हामी अघि बढ्नुपर्नेछ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।