काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले विगत २० वर्षको अवधिमा मानव अधिकार हननको सूचीमा रहेका व्यक्तिहरुको नामावली बिहीबार नै सार्वजनिक गर्ने भएको छ।
आयोगका पदाधिकारीको पदावधी कात्तिक २ गतेसम्म रहेका र कात्तिक १ गते दसैँ शुरुवात हुने भएकाले बिहीबार नै भर्चुअल माध्यमबाट मानव अधिकार हननकर्ताहरुको सूची सार्वजनिक गर्न लागेको हो।
आयोगले नेपाल सरकारलाई गरेको सिफारिसहरू, त्यसको कार्यान्वयन अवस्था र आयोगले हालसम्म मानव अधिकार उल्लंघनकर्ता भनी नाम किटान गरिएकाहरुको एकीकृत नामावली समेतलाई समेटेर तयार पारिएको प्रतिवेदन सार्वजनिक हुने आयोगले जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले चार बजे भर्चुअल विधिद्वारा सार्वजनीक गर्ने कार्यक्रम रहेकाले आयोगले जनाएको छ।
मानव अधिकार हननकर्ताको सूचीमा पूर्वप्रधानमन्त्री, राजनीतिक व्यक्ति, सेनाका उच्च अधिकारी, नेपाली प्रहरीका उच्च अधिकार र द्वन्द्वकालीन समयमा गैर न्यायीक हत्यामा संलग्नहरू, पूर्वशाही शासनकालका व्यक्तिहरू रहेका छन्। आयोगले २० वर्षको अवधीमा गरेका सिफारिसहरु कार्यान्वयन नभएपछि दबाब स्वरुप नाम सार्वजनिक गर्न लागेको हो।
आयोगले यसरी मानव अधिकार हननकर्ताको रुपमा नाम सार्वजनिक गरेपछि अन्तराष्ट्रिय र राष्ट्रिय रुपमा उनीहरुको योग्यता र नैतिकतामाथि प्रश्न उठ्नेछ।
आयोगले करीब एक वर्षअघि नै यस्ता व्यक्तिको नाम सार्वजनिक गर्दै कालोसूचीमा राख्ने कार्यविधी पनि बनाएको थियो। तर आयोगभित्र मतभेद भएकाले उक्त कार्य रोकिँदै आएको थियो। अध्यक्ष शर्माले आफू जानुअघि यस्तो कार्य गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।