काठमाडौं– झापा कनकाई नगरपालिका–३ स्थित सुरुङा खोलाको डिलमा रहेको बाँसघारीमा मृत अवस्थामा फेला परेका २२ वर्षीय अभिषेक चौधरीको हत्या भएको पुष्टि भएको छ।
कनकाई- ३ स्थितमै बसोबास गर्ने चौधरी बुधबार ६ बजे बाँसघारीमा मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मृतक चौधरीको शव शंकास्पद देखिएपछि गहन अनुसन्धान शुरु गरेको थियो।
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी इकाई कार्यालय धरानबाट कुकरसहितको टोली खटेको थियो। अनुसन्धानमा खटिएको प्रहरी टोलीले चौधरीको हत्या भएको पुष्टि गरेसँगै उनको हत्यामा संलग्न कनकाई- ७ का २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई ८ घण्टाभित्रै पक्राउ गरी बिहीबार ईलाका प्रहरी कार्यालय अनारमनिबाट सार्वजनिक गरिएको हो।
मृतक चौधरी र राजबंशी दुबै जना लुकिछिपी लागुऔषध सेवन गर्ने गर्थे । लागुऔषध सेवनकै विषयमा उनीहरुबीच वादविवाद भएपछि मंलबार राति चौधरी खोलाको डिलमा निस्किएको मौका छोपेर राजवंशीले पछाडिबाट बन्चरोले शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेको पाइएको छ। हत्यापछि शवलाई बाँसघारीमा राखेर उनी फरार रहेको अनुसन्धानका क्रममा खुल्न आएको छ।
फरार पश्चात पक्राउ परेका राजवंशीले आफूले चौधरीको हत्या गरेको साविति बयान समेत दिएका छन्। साथै प्रहरीले घटनामा प्रयोग गरेको बन्चरो र राजवंशीको कपडा समेत बरामद गरेको छ। राजवंशीविरुद्ध इलाका प्रहरी कार्यलय अनारमनिले कर्तत्वय ज्यानको कसुरमा म्याद लिएर थप अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।