काठमाडौं- भारतीय नम्बर प्लेटको ट्रकमा फल्स बटन (क्याबिन कोठा) बनाएर कपडा तस्करी गर्ने ९ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले वीरगञ्ज महानगरपालिका १० स्थायी बसोबास गरी नेपाल नागरिकता लिए पनि भारतीय राजदूताबासट भारतीय नागरिकको परिचयपत्र जारी भएका रजनिस गुप्ता र चितवनका राजेन्द्र थापालगायतविरुद्ध १३ करोड ८३ लाख रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हाे।
उनीहरूले ट्रकको क्याबिनमा छुट्टै कोठा बनाएर त्यसमा कपडा लुकाएर ल्याउने गरेको विभागले जनाएको छ। यसमा लर्ड बुद्ध कुरियर्स सञ्चालन गर्ने नवराज तिमिल्सेना, सुमन खतिवडा, सरोज राउत र गोकुलराज महतसमेत ६ जनालाई पनि विपक्षी बनाइएको छ।
त्यसैगरी ना ६ ख ५२५८ नं को सिमेन्ट बोकेर आएको ट्रकमा बिना बिल बिजकका भारतीय कपडा लुकाई भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसूर गरेको अभियोगमा रजनीशकुमार गुप्ता र राजेन्द्र थापासमेत ५ जना प्रतिवादीविरुद्ध ७ करोड ७७ लाख रूपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।