काठमाडौं– फ्रान्सले नेसन्स लिग फुटबलमा तेस्रो जित निकालेको छ। बुधबार राति भएको खेलमा फ्रान्सले क्रोसियालाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टिम क्रोसियालाई पराजित गर्न फ्रान्सका केलियन एम्बाप्पे र एन्टोनी ग्रिजम्यानले गोल गरे। क्रोसियाका लागि निकोला भिसिकले गोल फर्काए। खेलको आठौं मिनेटमा नै ग्रिजम्यानले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। खेलको ६४ औं मिनेटमा भिसिकले गोल गर्दै क्रोसियालाई १–१ गोलको बराबरीमा ल्याए। तर खेलको ७९ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई २–१ गोलको जित दिलाए।
फ्रान्सको यो नेसन्स लिगमा तेस्रो जित हो। यसअघि फ्रान्सले पहिलो खेलमा स्वीडेनलाई १–० गोलअन्तरले पराजित गरेको थियो। त्यसपछि क्रोसियालाई नै आफ्नै मैदानमा भएको खेलमा ४–२ गोलअन्तरले पराजित गरेको थियो। फ्रान्सले तेस्रो खेलमा भने पोर्चुगलसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
यो जितसँगै फ्रान्सले चार खेलबाट तीन खेलमा जित र एक खेलमा बराबरी खेल्दै १० अंक बनाएको छ। पराजित क्रोसियाले भने चारमध्ये तीन खेलमा हार र एक खेलमा जित निकाल्दै तीन अंक मात्रै बनाएको छ।
बुधबार राति नै भएका अन्य खेलमा वेल्सले बुल्गेरियालाई १–० गोलअन्तरले पराजित गर्दा फिनल्यान्डले रिपब्लिक अफ आयरल्यान्डलाई पनि १–० गोलअन्तरले नै पराजित गरेको छ। स्लोभेनियाले मोल्डोभालाई ४–० गोलअन्तरले हराउँदा नर्वेले उत्तरी आयरल्यान्डलाई १–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।