काठमाडौं–डिफेन्डिङ च्याम्पियन पोर्चुगलले नेसन्स लिग फुटबलमा जित निकालेको छ। बुधबार राति भएका खेलमा पोर्चुगलले स्वीडेनलाई ३–० गोलअन्तरले पराजित गरेको हो।
नेसन्स लिगमा घरेलु टिम पोर्चुगलले स्वीडेनविरुद्ध कप्तान क्रिष्टियानो रोनाल्डोविनै सहज जित निकालेको हो। कप्तान रोनाल्डो भने फ्रान्सविरुद्धको खेलपछि कोरोना संक्रमणको कारण अहिले सेल्फ आइसोलेसनमा छन्। पोर्चुगलको जितमा डियगो जोटाले दुई गोल गर्दा बेर्नान्डो सिल्भाले अर्को एक गोल थपे।
खेलको २१ औं मिनेटमा सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको ४४ औं मिनेटमा जोटाले गोल गरेपछि पोर्चुगल पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो। ७२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३–० गोलको जित दिलाए।
जितसँगै नेसन्स लिगको समूह ‘ए’ अन्तर्गत सी मा रहेको पोर्चुगल १० अंक बनाउँदै शीर्ष स्थानमा छ। पराजित स्वीडेनले भने चार खेलमा चारै खेल हारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।