काठामडौं– ब्राजिलले विश्वकप अन्तर्गत दक्षिण अमेरिका छनोटमा लगातार दोस्रो जित निकालेको छ। बुधबार दिउँसो भएको खेलमा ब्राजिलले पेरुलाई ४–२ गोलअन्तरले पराजित गरेको हो।
पाहुना टोली ब्राजिलको जितमा नेयमारले ह्याट्रिक गोल गरे। त्यस्तै, रिचार्लिसनले एक गोल थपे। पेरुका लागि एन्ड्रे कारिलो र रेनाटो टापियाले गोल गरे। खेलको छैटौं मिनेटमा नै गोल गर्दै पेरुले अग्रता बनाएको थियो। तर खेलको २८ औं मिनेटमा नेयमारले पेनाल्टीबाट गोल गर्दै ब्राजिललाई १–१ गोलको बराबरी दिलाए।
पेरुले दुई पटकसम्म बनाएको अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो। खेलको ५९ औं मिनेटमा रेनाटोले गोल गर्दैै पेरुलाई २–१ गोलको अग्रतामा पुर्याए। तर ६४ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई २–२ गोलको स्थितिमा ल्याए। खेलको ८३ औं मिनेटमा पेनाल्टीबाटै गोल गर्दै नेयमारले ब्राजिललाई ३–२ गोलको अग्रता दिलाए। खेलको ८६ औं मिनेटमा कार्लोस क्यासेडा र ८९ औं मिनेटमा कार्लोस जाम्ब्रानोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पेरु ९ खेलाडीमा झरेको थियो। खेलको अतिरिक्त समयमा नेयमारले नै गोल गर्दै ह्याट्रिक पूरा गरे।
यो गोलसँगै नेयमार ब्राजिलको सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका छन्। उनी रोनाल्डोलाई उछिन्दै दोस्रो स्थानमा पुगेका हुन्। ब्राजिलको सर्वाधिक गोलकर्तामा पेले छन्। उनले ९२ खेलबाट ७७ गोल गरेका छन्। सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा उक्लिएका नेयमारले १०३ खेलबाट ६४ गोल गरेका छन्। तेस्रो स्थानमा रहेको रोनाल्डोले ९८ खेलबाट ६२ गोल गरेका छन्।
विश्वकप फुटबलको दक्षिण अमेरिका छनोटमा ब्राजिलको यो लगातार दोस्रो जित हो। यसअघि ब्राजिलले पहिलो खेलमा बोलिभियालाई ५–० गोलले पराजित गरेको थियो। बुधबार नै भएको अर्को खेलमा चिलीले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।