काठमाडौं– घरेलु टोली युक्रेनले नेसन्स लिग फुटबलमा बलियो टिम मानिएको स्पेनलाई पराजित गरेको छ। मंगलबार राति भएको खेलमा युक्रेनले स्पेनलाई १–० गोलले पराजित गरेको हो।
खेलअवधिभर बल पोजिसन आफ्नो पकडमा राखे पनि स्पेन पराजित हुन पुग्यो। पहिलो हाफसम्म गोलरहित बराबरीमा स्पेनलाई रोकेको युक्रेनले दोस्रो हाफमा गोल गर्दै जित सुनिश्चित गरेको हो। युक्रेनको जितमा भिक्टर टिस्हान्कोभले गोल गरे।
खेलको ७६ औं मिनेटमा भिक्टरले गोल गरेपछि युक्रेनले स्पेनमाथि १–० गोलको अग्रता बनाएको थियो। बाँकी समयमा स्पेनले गोल फर्काउन नसक्दा हार ब्यहोरेको हो। जितपछि करिब १५ हजार दर्शकसँग युक्रेनी खेलाडीले प्रत्यक्ष जितको खुशियाली बनाएका थिए।
नेसन्स लिगको समूह ‘ए’ को डी मा रहेको स्पेन हारपछि पनि शीर्ष स्थानमै छ। स्पेनले चार खेलमध्ये दुई खेलमा जित एक खेलमा बराबरी र एक खेलमा हार ब्यहोर्दै सात अंक बनाएको छ। युक्रेन भने समूहको तेस्रो स्थानमा छ। चार खेलबाट दुई खेलमा हार र दुई खेलमा जित हात पार्दै युक्रेनले ६ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।