काठमाडौं-नेसन्स लिग फुटबलमा घरेलु टिम जर्मनीलाई स्वीट्जरल्यान्डले बराबरीमा रोकेको छ। मंगलबार राति भएको खेलमा स्वीट्जरल्यान्ड र जर्मनीले ३–३ गोलको बराबरी खेलेको हो।
सुरुवातमै दुई गोलको अग्रता बचाउन नसक्दा स्वीट्जरल्यान्डले जर्मनीसँग अंक बाँडेको हो। स्वीट्जरल्यान्डका लागि मारियो गभ्रानोभिचले दुई गोल गर्दा रेमो फ्रेउलरले एक गोल थपे। जर्मनीका लागि टिमो वार्नर, काई हाभर्टज र सर्ज गिनाब्रीले गोल गरे।
खेलको पाँचौं मिनेटमा नै मारियोले गोल गर्दै स्वीट्जरल्यान्डलाई अग्रता दिलाएका थिए। खेलको २६ औं मिनेटमा रेमोले गोल गरेपछि स्वीट्जरल्यान्डले २–० गोलको अग्रता बनायो। तर खेलको २८ औं मिनेटमा वार्नरले गोल गर्दै जर्मनीलाई २–१ गोलको स्थितिमा ल्याए।
पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको स्वीट्जरल्यान्डले दोस्रो हाफमा एक गोल थप्दा दुई गोल खान पुग्यो। खेलको ५५ औं मिनेटमा हाभर्टजले गोल गर्दै जर्मनीलाई २–२ गोलको बराबरी दिलाए। तर ५६ औं मिनेटमा मारियोले गोल गरेपछि फेरि स्वीट्जरल्यान्डले अग्रता बनाउँदै ३–२ गोलको स्थितिमा पुग्यो। ६० औं मिनेटमा गिनाब्रीले गोल गर्दै जर्मनीलाई ३–३ गोलको बराबरी दिलाए।
यसअघि भएको पहिलो लेगको खेलमा पनि जर्मनी र स्वीट्जरल्यान्डले १–१ गोलको बराबरी खेलेका थिए। नेसन्स लिगको समूह ‘ए’ को डी मा रहेको जर्मनीको यो बराबरीसँगै चार खेलबाट तीन खेलमा बराबरी र एक खेलमा जितसहित ६ अंक भएको छ। स्वीटजरल्यान्डको भने दुई खेलमा हार र दुई खेलमा बराबरीसहित दुई अंक मात्रै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।