काठमाडौं- गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै तिनलाई रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्।
मंगलबार भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई संवोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन्।
उनले भने, ‘नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वास लिएको छु।’
उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलात्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन निर्देशन दिए।
गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सिमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाइराख्न आग्रह गरे।
उनले प्रहरी समायोजनसम्बन्धी प्रस्ताव पास भइसकेकाले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास व्यक्त गरे।
उनले दशैतिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महंगी नियन्त्रणका लागि नियमित रुपमा बजा अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए।
गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए।
प्रदेशस्तरीय भर्चुअल सुरक्षा गोष्ठी
कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १मा भर्चुअलरुपमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापा‘बादल’, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले सम्बोधन गरेका थिए।
गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए।
सो सुरक्षा गोष्ठी वैशाखमै गर्नुपर्नेमा कोरोनाका कारण रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।