काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत, वीरेन्द्रनगर नगरपालिका- ४ का वडा सचिव इन्द्रप्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर विकविरूद्ध राजस्व हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। वीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत वीरेन्द्रनगर- १३ का विकले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी आफ्नै व्यक्तिगत खातामा जम्मा गरेका थिए।
अनुसन्धानको क्रममा विकले वीरेन्द्रनगर नगरपालिका- ४ को कार्यालयबाट राजस्व रकम २० लाख २० हजार ६७ रुपैयाँ संकलन गरेकोमा विभिन्न मितिमा ४ लाख १६ हजार ६सय बैंकमा दाखिला गरी १६ लाख ३ हजार ४ सय ६७ राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको थियो।
संकलित राजस्व रकमले कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्रप्रसाद अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो रहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले दुवैलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र १६ लाख ३ हजार ४ सय ६७ रुपैया विगो असुल हुनुपर्ने दावी गरेको छ। अख्तियारले बिगोको दोब्बर जरिवाना र हिनामिना गरेको राजस्वमध्ये ७ लाख १६ हजार ७ सय १७ हालसम्म पनि दाखिला नभएको आयोगको आरोपपत्रमा उल्लेख छ। आयोगले यो रकम उनीहरुबाट असुल हुुनपर्ने दाबी पनि आरोपपत्रमा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।