फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट प्रकृतिक विपद जोखिम न्यूनीकरण गर्नुपर्ने बताएका छन्। प्राकृतिक विपद जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले व्यापक जागरण र सबैको साझा प्रयासबाट जोखिम न्यूनीकरण गर्न सकिने बताएका हुन्।
जोखिम प्रकट हुनै नपाउने र भइहाले त्यसको समाधान कसरी गर्ने भन्ने सम्बन्धमा सरकार तत्पर रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ छ। सरकारले उद्धार, राहत र पुननिर्माणका कामहरुलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा सहभागितालाई बढाउँदै लगेको पनि प्रधानमन्त्रीको दाबी छ।
केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा केन्द्रले तय गरेका राष्ट्रिय नीति, रणनीति र कार्ययोजनालाई प्रवाहीत गर्ने र सबैतहमा जानकारी गराउने काम भइराखेको पनि प्रधानमन्त्रीले बताए।
सन् २०१५ देखि सुरु भएको दिगो विकास लक्ष्यले पनि विपद जोखिमको सन्दर्भमा महत्वपूर्ण दृष्टिकोण अगाडि सारी काम गरिराखेको उनको भनाइ छ। नेपालमा विपद जोखिम न्यूनीकरण र त्यसबाट उत्पन्न भएका असरहरुको समाधान गर्ने सन्दर्भमा राष्ट्रिय नीतिको तर्जुमाबाट तयार भएको रणनीतिक कार्ययोजनालाई दिगो विकास लक्ष्यसँगै जोडेर राष्ट्रिय रणनीति तय भइसकेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे। विपद न्यूनीकरणका लागि मानवीय भावना, परोपकारी भावना र सहकार्यको भावनाको आवश्यकता भएको पनि उनको भनाइ छ।
पछिल्लो समय कोरोना भाइरसले मानवीय र अर्थतन्त्रमाथि गम्भीर क्षति पुर्याएकोले पनि सबै मिलेर न्यूनीकरणमा लाग्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख गरे।कोरोना संक्रमणको अहिलेको स्थितिले विश्व व्यवस्थाको सन्दर्भमा नयाँ नयाँ ढंगले सोच्नुपर्ने समेत उनले बताए।
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले विश्व कोरोना महामारीको विरुद्ध जुधिरहेको अवस्थामा सम्पूर्ण व्यक्ति एक भई विपदको समाना गर्न दिवसले सबैलाई प्रतिवद्ध बनाउने विश्वास व्यक्त गरे। प्राकृतिक विपदको विरुद्ध एक्लै लडन असम्भव हुने भएकाले सबै पक्ष एक भएर काम गर्नुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री थापाले नेपालमा यस वर्षको मनसुनमा ५ सयभन्दा बढीको संख्यामा मानवीय क्षति भएको र एक अर्बभन्दा बढीको आर्थिक क्षति भएको उल्लेख गरे। प्राकृतिक विपद न्यूनीकरणका लागि सरकारले आवश्यक ऐन, नियमावली र कार्यविधिको पनि व्यवस्था गरेको उनले दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।