काठमाडौं–दुई वर्षमा झण्डै साढे २ अर्ब बराको सुन तस्करी भएको भन्दै राजश्व अनुसन्धान विभागले एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ। विभागले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित सोनी गोल्ड एण्ड सिल्भर प्रालिका सञ्चालक सुनील सुनारविरुद्ध उच्च अदालत तुल्सीपुर, बुटवलमा मुद्दा दायर गरेको हो ।
उनले पछिल्लो दुई वर्ष अवधिमा सुनचाँदीको भन्सार चोरी पैठारी तथा निकासी गरी २ अर्ब ३९ करोड, ५५ लाख १५हजार ९ सय ४३ रुपैयाँ बराबरको राजश्व चुहावट गरेको पाइएकाले सोही बराबरको बिगो र जरिवानासहित कैदको मागदावी गर्दै मुद्दा दायर गरिएको छ ।
विशेष सूचनाका आधारमा राजस्व अनुसन्धान कार्यालय वुटवलबाट खटिएको टोलिले बुटबल उपमहानगरपालिका–११ स्थित चौराहाबाट सुनील सुनार (सुनिल सोनी)को कारभित्र बोरामा लुकाईछिपाई राखेको नगद र उनको साथमा रहेको मोबाईल गत असार ३० गते बरामद गरेको थियो ।
नगद र मोबाइलसहित पक्राउ परेका उनीविरुद्ध विभागले अनुसन्धान अघि बढायो । अनुसन्धानका क्रममा भारतीय नागरिक सुनील सुनार भनिने सुनील सोनीले सुन-चाँदीको अवैध आयात-निर्यात तथा बिक्री कारोवार गर्ने गरेको खुलेको थियो ।
उनले मोबाइलको माध्यमबाट विभिन्न व्यक्तिसँग कारोबार गर्ने गरेको, कारोबारस्थलबाट बरामद गरिएका बैंक दाखिला भौचर, बैक स्टेटमेन्ट र मोवाइलबाट प्राप्त बैंक भौचरका आधारमा विभिन्न व्यक्तिलाई रकम भुक्तानी दिएको पाइएको थियो ।
उनले बैंक तथा भन्सार विन्दुवाहेक अन्य बाटोबाट सुन-चाँदी चोरी पैठारी गरी अवैध रुपमा बिक्री गर्ने, त्यसबाट प्राप्त रकमलाई नेपाली तथा विदेशी मुद्रामा परिणत गरी विभिन्न व्यक्तिहरुलाई भुक्तानी लिने र दिने गरेको अनुसन्धानबाट खुलेको थियो ।
सो क्रममा उनले अवैध सुन चाँदीको चोरी पैठारी, निकासी गरी कारोवार गरेको पुष्टि हुन आएको भन्दै विभागले उनीविरुद्ध मुद्दा दायर गरेको हो । उनीसँगै मतियारको भूमिका निभाएका अमित परियारलाई समेत विपक्षी बनाएर विभागले मुद्दा दायर गरेको छ । उनीहरुले यसरी अवैध रुपमा भित्र्याएको सुनचाँदी नेपालमा नभई भारत सप्लाई गर्ने गरेको पाइएको छ । यसरी उनीहरुले दुई वर्षको अवधिमा उक्त रकम बराबरको भन्सार छली गरेको विभागको अनुसन्धानले देखाएको छ ।
भारतीय नागरिक सुनील सोनीले सुनील सुनारको नाममा नेपाली नागरिकतासमेत लिएको पाइएकाले उनीविरुद्ध नागरिकताको कसुरमा कारबाही गर्न प्रशासनलाई पत्राचार गरिएको विभागले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।