काठमाडौं- काठमाडौंका सञ्चारगृहबाट पीडित पत्रकार/कर्मचारीले आइतबार सूचना प्रसारण विभागमा लाल्टिन बालेर एक घण्टा धर्ना दिएका छन्। कोरोना संक्रमणको बहानामा संचारगृहबाट निकालिएका पत्रकार संयुक्त संघर्ष समितिको अगुवाइमा लाल्टिन बालेर धर्ना दिइएको हो।
सञ्चारगृहबाट पीडित उनीहरूले नेपालमा नियम कानून कार्यान्वयन गर्नुपर्ने सरकार हराएको संकेत गर्दै 'सरकार खै कता छ' भन्ने प्लेकार्डसहित सरकारको उपस्थिति नदेखिएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
श्रमजीवी पत्रकार ऐन २०५१ पूर्ण कार्यान्वयन हुनुपर्ने र कोरोनाको बहानामा निकालिएका श्रमजीवीहरूको पुनर्बहालीलगायतका माग राख्दै उनीहरूले आन्दोलन जारी राखेका छन्। नेपाल पत्रकार महासंघ र संघर्ष समितिको संयुक्त आयोजनामा भएको धर्नालाई सम्बोधन गर्दै महासंघका महासचिव रमेश विष्टले सञ्चारकर्मीका माग र आवाजलाई अत्यन्तै बेवास्ता गरिएको बताए। उनले यो अत्यन्तै खेदजनक रहेको भन्दै निन्दा व्यक्त गरे।
सञ्चारगृहका पीडित पत्रकार/कर्मचारी संयुक्त संघर्ष समितिका संयोजक धर्मेन्द्र कर्णले आफूहरूको संघर्ष कुनै एक मिडिया सञ्चालकविरुद्ध नभई समग्र सञ्चार क्षेत्रका श्रमजीवीको हकहितको लागि भएको स्पष्ट पारे।
सञ्चारगृहका पत्रकार/कर्मचारीको समस्या गम्भीर रहेको भन्दै यसलाई सरकारले गम्भीरताका साथ लिएर समाधान गर्नुपर्नेमा कर्णले जोड दिए।
हाल कोरोना संकटको निहुँ पारेर विभिन्न सञ्चारगृहले श्रम शोषण गर्ने, जबरजस्ती निष्काशन गर्ने, ५/६ महिनासम्म तलब नदिने र तलब माग्ने सञ्चारकर्मीलाई कोरोना महामारीका बेला विकट स्थानमा सरुवा गरेका छन्। कतियप सञ्चारगृहले श्रमजीवीलाई नियुक्तिपत्र समेत नदिएको पाइएको छ।
असोज १५ गतेदेखि पीडित श्रमजीवीले नयाँ बानेश्वरमा ५ दिने रिले अनशन गरेका थिए। त्यसलगत्तै अन्नपूर्ण पोष्ट दैनिक, कान्तिपुर टिभी, थापाथलीस्थित कान्तिपुर मीडिया ग्रुप, कारोबार दैनिक, नागरिक दैनिक र नेपाल आज अनलाइनका कार्यालय घेराउ गरेका थिए।
आन्दोलनलाई विश्व ट्रेड यूनियन महासघंको समर्थन
विश्व ट्रेड यूनियन महासंघले श्रमजीवी पत्रकारहरूको आन्दोलनप्रति समर्थन जनाउँदै माग पूरा गर्न आग्रह गरेको छ। विश्व ट्रेड यूनियन महासंघ ३ अक्टोबर १९४५ मा स्थापना भएको विश्वका १३० देशका १० करोड ५ लाख प्रगतिशील एवं समाजवादी विचार पक्षधर श्रमिकहरूको अन्तरराष्ट्रिय ट्रेड यूनियन हो।
विश्व ट्रेड यूनियन महासंघ, समन्वय समिति नेपालका तर्फबाट प्रेमल खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विश्व ट्रेड यूनियन महासंघ समन्वय समिति नेपाल, श्रमजीवी पत्रकारहरूले सञ्चालन गरेको आन्दोलनमा पूर्ण समर्थन र ऐक्यबद्धता प्रकट गर्दछ। यस सम्बन्धमा यथाशीघ्र सरकार र राष्ट्रिय मानवअधिकार आयोगबाट अविलम्ब पहल गरी सम्बन्धित सञ्चार गृह व्यवस्थापन र आन्दोलनरत पत्रकारहरूबीच वार्ता गराई समस्या समाधान गर्न हार्दिक आग्रह गर्दछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।