कास्की- नेपाल सरकार अव्यवस्थित सुकुम्बासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्यसमितिका पदाधिकारी हौँ भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराइदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-५ पर्स्याङ डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका-९ सिजिङ घर भएका ३९ वर्षीय हिरा बहादुर तामाङ, पोखरा महानगरपालिका-१४ कुडहर बस्ने म्याग्दी रघुगंगा गाउँपालिका-४ राफु घर भएका ३० वर्षीय रमेश कुमार परियार, सोही महानगरपालिका-१४ चाउथे बस्ने रुपन्देही सैनामैना नगरपालिका-९ बाँसगढी घर भएका ३५ वर्षीय ओम बहादुर सुनार, पोखरा महानगरपालिका-१३ बस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-३ एक्ले घर भएकी ३७ वर्षीया रिता विश्वकर्मा, पोखरा महानगरपालिका-१७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, पोखरा महानगरपालिका-१३ बाँझपाटन बस्ने २७ वर्षीया सिता सुनार, पोखरा महानगरपालिका-१३ मियापाटन बस्ने ५० वर्षीय हर्क बहादुर विक र सोही ठाउँ बस्ने २४ वर्षीय मौसम सदासंकर रहेका छन्।
उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका-१४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका-१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भर बिश्वास दिलाई पोखरा महानगरपालिका-१४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराइदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनी रकम उठाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कास्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरुको साथबाट नगद १ लाख ६१ हजार रुपैयाँ, विभिन्न मितिमा बैठक गरिएका निर्णय रजिष्टर १ थान, नगद उठाएको रजिष्टर १ थान, नगदी रसिद प्याडहरु, नगद उठाएको रसिद प्याडको अर्धकट्टीहरु, विभिन्न व्यक्तिहरुको नागरिकताको फोटोकपी १९ थान, विभिन्न व्यक्तिहरुको पासपोर्ट साइजको फोटोहरू र अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग काठमाडौं लेखिएको गण्डकी प्रदेश कार्यसमिति गठन भएको पत्र १ थान समेत बरामद गरेको छ।
पक्राउ परेका व्यक्तिहरू उपर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।