काठमाडौं-सोमबार बिहान गोंगबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पर्यो। होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान थिए। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न बाहिर गएका थिए। होटल सञ्चालकले आफूसँग व्यापारीको सम्पर्क फोन नम्बर नभएको बताए।
अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ। अहिले २ जना व्यापारी सम्पर्कमा आएका छन्। उनीहरुलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ। होटल सञ्चालक लीलाबल्लभ पराजुलीकाअनुसार उनीहरुमध्ये असोज २० गते २ जना आएर कोठा लिएर बस्न थालेका थिए। २२ गते ४ जना थपिए। आइतबार थप ६ जना आए।
‘उनीहरुले आफूहरु मह व्यापारी हौं भन्थे। कोठामा बस्थे। दिउँसो मह बेच्न जान्थे। बेलुका फर्कन्थे,’ होटल सञ्चालक पराजुलीले भने। यी व्यापारी यसअघि गत वर्षको पुस-माघ महिनामा आएर व्यापार गरेर फर्केका थिए।
होटलमा उनीहरुको नाम थर भएको कुनै विवरण छैन। होटल सञ्चालक पराजुली भन्छन्- ‘पहिले पनि आउने जाने गरेकाले परिचय पत्र खोजेनौं। उनीहरु महोत्तरीतिरका हुन्।’
अनुगमन टोलीको नेतृत्व गरिरहेका महानगरको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीकाअनुसार महमा देखिएकाे चाका मैदाको हुन सक्छ। त्यस्तै नक्कली महमा अन्य रसायन के-के प्रयोग गरेका छन् भनेर अध्ययन भईरहेको छ। मह भनिएको वस्तु चिनीको खुदो रहेको आँकलन गरिएको छ।
अनुगमन टोलीले होटलका ३ वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखी शिलबन्दी गरेको छ। त्यहाँ ९ किलो १ सय ८६ ग्रामका २८ पोका सामान र १३ टिन माहुरीको चाका छ। यस्तै अन्य सानातिना धेरै पोका छन्।
स्थानीयका अनुसार ती व्यापारीले नक्कली मह प्रतिकिलो ८ सय रुपैयाँमा बिक्री गर्ने गरेका थिए।
अनुगमन टोलीले नक्कली मह बनाउन प्रयोग गरिएका सामान होटलको एउटै कोठामा जम्मा गरेर सिल गरेको छ।


चिनीको चास्नीमा डुबाउन राखिएका चाका, यो पनि नक्कली भएको आशंका गरिएको छ
यही होटलमा फेला परेको थियाे नक्कली मह बनाउने सामाननेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।