काठमाडौं- इंग्ल्यान्डले नेसन्स लिग फुटबलमा जित निकालेको छ। आइतबार राति भएको खेलमा इंग्ल्यान्डले बेल्जियमलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
घरेलु टोली इंग्ल्यान्डको जितमा मार्कुस राष्फोर्ड र मासन माउन्टले गोल गरे। बेल्जियमका लागि रोमेलु लुकाकुले गोल फर्काएका थिए। खेलको १६ औं मिनेटमा नै लुकाकुले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। तर ३९ औं मिनेटमा राष्फोर्डले पनि पेनाल्टीबाट गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफसम्म १–१ गोलको बराबरी दिलाए। इंग्ल्यान्ड टिमका लागि राष्फोर्डको यो ११ औं गोल हो।
पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको इंग्ल्यान्डले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो। खेलको ६४ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २–१ गोलको जित दिलाए।
जितपछि तीन खेलबाट दुई खेलमा जित र एक खेलमा बराबरी खेलेको इंग्ल्यान्डले सात अंक बनाएको छ। बेल्जियमको दुई खेलमा जित र एक खेलमा बराबरीसहित ६ अंक छ।
आइतबार राति नै भएका अन्य खेलमा नर्वेले रोमानियालाई ४–० गोलअन्तरले पराजित गरेको छ। नर्वेको जितमा इर्लिङ हालान्डले ह्याट्रिक गोल गरे। उनको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गोल हो। त्यस्तै, क्रोसियाले स्वीडेनलाई २–१ र फिनल्यान्डले बुल्गेरियालाई २–० गोलअन्तरले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।