काठमाडौं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को सडकमा रहेको ठूलो ढुंगा नेपाली सेनाले हटाएको छ। स्थानीयहरू घरमाथिको ठूलो ढुंगा खस्ने त्रासमा लामो समयदेखि बस्दै आएका थिए।
नाम्फादेखि १ किलोमिटर माथि र सञ्च गाउँभन्दा करिब २०० मिटर तल १७–१३–१२ क्यू फिटको विशाल ढुंगा थियो।
असोज २३ गते रोटरी ड्रिल र विस्फोटक पदार्थको सन्तुलित मात्रा प्रयोग गरेर उक्त ढुंगालाई सुरक्षित रुपमा हटाइएको नेपाली सेनाले जनाएको छ। असोज ६ गते बसेको जिल्ला व्यवस्थापन समिति, सिन्धुपाल्चोकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तैनाथ नेपाली सेनाको गोरख बक्स गण, कालीसिद्धी गण तथा, माथिल्लो बलेफी हाइड्रोपावरका प्राविधिकहरुको समन्वयमा उक्त ढुंगालाई सुरक्षित रुपमा हटाउनको लागि निर्देशन दिएको थियो। जसलाई सेनाले ‘अपरेशन नाम्फा बचाउँ’ नाम दिइएको थियो।
ठूलो ढुंगा सुरक्षित रुपमा हटाउन सफल भएकोमा २५ असोजमा कार्यस्थलमा खटिएका नेपाली सेनाका जवानहरुकोस्थानीय जनप्रतिनिधि र स्थानीयबासीहरुले सम्मान समेत गरेका छन्। कार्यक्रममा नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बनाउन नेपाली सेना सदैव क्रियाशील रहने सेनाले जनाएको छ।
२०७२ सालमा आएको भूकम्पको कारण ढुंगा पहिलेको स्थानबाट केही मात्रामा सरेर तल होचो भूभागमा झरेको थियो। सो ठाउँका जमिन प्राकृतिक रुपमा निकै खुकुलो रहेको हुँदा जुगल गाउँपालिका–२ अन्तर्गत सान्चो, नाम्फा ठूलो र नाम्फा सानो गाउँ त्रासमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।