काठमाडौं– नेपाली स्ट्राइकर अभिषेक रिजालको दुई गोलमा मोहम्मादेन स्पोर्टिङ क्लबले हिरो आई लिग फुटबल छनोटमा जित निकालेको छ।
आइतबार दिउँसो भएको खेलमा मोहम्मादेनले एआरए एफसीलाई ४–१ गोलअन्तरले पराजित गरेको हो। मोहम्मादेनको जितमा अभिषेकले दुई गोल गरे। त्यस्तै, फैयज र डेयोन प्लाजाले गोल गरे। यता, एआरए एफसीका लागि मनोजले गोल गरे।
सुरुवाती अग्रता भने एआरए एफसीले बनाएको थियो। खेलको चौथो मिनेटमा नै मनोजले गोल गर्दै एआरए एफसीलाई अग्रता दिलाएका थिए। तर खेलको १२ औं मिनेटमा प्लाजाले गोल गर्दै मोहम्मादेनलाई १–१ गोलको बराबरीमा पुर्याए। खेलको २० औं मिनेटमा नेपालका अभिषेकले गोल गर्दै मोहम्मादेनलाई २–१ गोलको अग्रता दिलाए।
खेलको ४४ औं मिनेटमा अभिषेकले नै व्यक्तिगत दोस्रो गोल गर्दै मोहम्मादेनलाई पहिलो हाफसम्म ३–१ गोलको अग्रता दिलाए। खेलको ८८ औं मिनेटमा फैयजले गोल गरेपछि मोहम्मादेन ४–१ गोलले विजयी भएको हो।
आई लिग दोस्रो डिभिजन खेल्न नेपालका राजेश परियार र अभिषेक रिजाल मोहम्मादेन स्पोर्टिङ क्बलमा अनुबन्धित भएका थिए। राजेशले भने खेल्न पाएका छैनन्।
आई लिग दोस्रो डिभिजनको फाइनल चरणमा पाँच टिम छन्। मोहम्मादेन, भवानीपुर, एआरए एफसी, गढवाल एफसी र बेंग्लुरु युनाइटेडमध्ये शीर्ष टिम २०२०–०२१ को आई लिगमा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।