काठमाडौं–नेशन्स लिग फुटबलमा जर्मनीले पहिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा जर्मनीले युक्रेनलाई २–१ गोलअन्तरले पराजित गरेको हो।
युक्रेनको ओलम्पिक रंगशालामा करिब २० हजार दर्शकको उपस्थितिमा जर्मनीले घरेलु टोलीलाई पराजित गरेको हो। जर्मनीको जितमा माथियस गिन्टर र लियन गोरेटज्काले गोल गरे। युक्रेनका लागि भने रुस्लान मालिनोस्कीले गोेल फर्काए।
खेलको २० औं मिनेटमा माथियसले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल भने खान पुगेको थियो। खेलको ४९ औं मिनेटमा गोरेटज्काले गोल गर्दै जर्मनीलाई २–० गोलको अग्रता दिलाए। तर खेलको ७६ औं मिनेटमा मालिनोस्कीले पेनाल्टीबाट गोल गर्दै युक्रेनलाई २–१ गोलको स्थितिमा ल्याए। बाँकी समयमा युक्रेनलाई रोक्दै जर्मनीले जित निकालेको हो।
युइएफए नेसन्स लिगको समूह ‘ए’ को डी मा रहेको जर्मनीको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा जर्मनीले स्पेन र स्वीट्जरल्यान्डसँग समान १–१ गोलको बराबरी खेलेको थियो। तीन खेलबाट दुई खेलमा बराबरी र एक खेलमा जित निकालेको जर्मनीको पाँच अंक भएको छ। पराजित युक्रेनको भने तीन अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।