फाइल तस्बिर
काठमाडौं- २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई सरकारी वार्ता टोलीले फेरि अनसन अन्त्य गर्न आग्रह गरेको छ। सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव गोपीनाथ मैनालीले मुलुक कोरोनाले आक्रान्त रहेको भन्दै अनसन अन्त्य गर्न अनुरोध गरेका हुन्।
१९औं अनसनमा रहेका डा. केसीलाई अनसन तोड्न सरकारले आग्रह गरेको यो तेस्रोपटक हो। यसअघि सरकारका प्रवक्ता प्रदीप ज्ञवाली र शिक्षा सचिव मैनालीले पनि अनसन अन्त्य गर्न आग्रह गरेका थिए। शुक्रबार राती डा. केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो।
केहीबेर अघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार गएका थिए। त्यसपछि विज्ञप्ति सरकारको आएको हो।
‘कोरोनाको विषम परिस्थितिलाई आत्मसात गर्दै अनसन अन्त्य गर्न वार्ता समिति विनम्रपूर्वक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
बिहीबार र शुक्रबार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो। वार्ताका क्रममा केसीका मागबारे सरकारको धारणा स्पष्ट पारिएको मैनालीले जनाए।
चिकित्सा शिक्षा ऐन, नियमावली जारी भइसकेको, चिकित्सा शिक्षा आयोग बनेर एकीकृत प्रवेश परीक्षा, सिट निर्धारण, एकीकृत शैक्षिकसत्र र सरकारी मेडिकल कलेजमा ७५ प्रतिशत छात्रवृत्ति लगायत नियमन सम्बन्धी व्यवस्था गरिसकिएको विज्ञप्तिमा भनिएकाे छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।