कुनै पनि शंकास्पद मानसिक समस्या लिएर मनोचिकित्सकसँग परामर्श लिन जानु भनेको पागल हुन लागेको हो भनेर सोच्नेहरू हाम्रो समाजमा थुप्रै भेटिन्छन्। अझ गाउँघरमा त मानसिक समस्या भन्ने बितिकै पागल नै हुन लागेको भनिहाल्ने पनि देखिन्छ। पागल हुन लागेको भनेर उपचारमा ढिलासुस्ती गर्नेको संख्या पनि कम छैन। तर यो एकदमै गलत हो।
चिकित्सकहरू मानसिक समस्यालाई डिप्रेसनका रूपमा लिन्छन्। समयमा नै उपचार भएमा यो एकदमै सामान्य तर उचित निराकरण नभएमा गम्भीर स्वास्थ्य समस्या हो डिप्रेसन। डिप्रेसनका कारण भावना, सोच तथा व्यवहारमा नकारात्मक असर पैदा हुने गर्दछ।
यस रोगमा मानिस दुःखी हुने, केही कुरामा पनि रुचि नरहने साथै भावनात्मक तथा शारीरिक समस्या पैदा भई दैनिक कामकाज गर्ने क्षमतामै ह्रास आउनेआदि खालका समस्याहरु देखा पर्छन्। तर डिप्रेसनमा यी नै समस्या/लक्षण मात्र देखिन्छन् भन्ने हुँदैन। यसका अन्य लक्षण पनि छन्। जस्तै:-
- खानामा रुचि हराउँदै जानु
- निद्रा नलाग्नु वा धेरै निद्रा लाग्नु
- आलस्यता/कमजोरी महसुस हुनु
- काममा वा बोलीमा सुस्तता आउनु
- हिनताबोध हुनु
- सोच्ने क्षमतामा कमी हुनु वा ध्यानपूर्वक कामहरु गर्न नसक्नु
- आफ्नै स्याहारसुसार ठीकसँग नगर्नु
- आफूलाई बेकारको महसुस गर्नु
डिप्रेसनको समस्या झेलिरहेका मानिसलाई जिन्दगीको महत्व नदेख्ने समस्या पनि निम्तिन्छ। उनीहरूमध्ये कतिपयलाई आत्महत्या गर्ने सोचसम्म आउन सक्छ। उचित उपचारको अभावमा यसै समस्याका कारण धेरैले ज्यान गुमाएका समेत छन्।
तर यी लक्षणहरु दुई वा दुई हप्ताभन्दा बढी समयसम्म रहेमा मात्र त्यसलाई डिप्रेसन भन्न सकिन्छ। साथै अन्य स्वास्थ्य समस्या जस्तै थाइराइड, ब्रेन ट्युमर, शरीरमा भिटामिनको कमी आदिमा पनि यस्ता लक्षण देखा पर्न सक्छन्। त्यसकारण डिप्रेसन नै हो भन्नका लागि विशेषज्ञ चिकित्सकबाट नै पुष्टि हुनुपर्छ।
अमेरिकी मनोचिकित्सकहरुले गरेको एक अध्ययनका अनुसार कुनै एक वर्षमा हरेक १५ जनामा १ जना डिप्रेसनबाट पीडित हुने देखाएको छ भने हरेक ६ जनामा १ जना जीवनको कुनै समयमा यस रोगबाट पीडित रहने गरेको तथ्य अगाडि सारेको छ।
जीवनको कुनै पनि समयमा लाग्न सक्ने यो रोगबाट मुख्यतया किशोरावस्थाको अन्त्यदेखि मात्र सुरु हुने विश्वास गरिन्छ। महिलाहरू यस रोगबाट तुलनात्मक रूपमा बढी पीडित हुने गरेका पाइन्छन्। एक अनुसन्धानले देखाए अनुसार एक तिहाइ महिला जीवनको कुनै न कुनै समयमा डिप्रेसनबाट गुज्रिएका हुन्छन्।
यस्तो मानसिक समस्या जो कोहीलाई पनि हुन सक्छ। बाहिरबाट हेर्दा सबै कुरा पुगिसरी देखिने, जीवनमा केही कुराको अभाव नभएकाहरु पनि यस समस्याबाट गुज्रने गर्दछन्।
यस रोग लाग्नका लागि निम्न कुराहरुले मुख्य रुपमा योगदान पुर्याउँछन्ः
१) शारीरिक रसायन- मस्तिष्कमा सेरोटोनिनलगायतका रसायनको कमी आदिका कारणले पनि डिप्रेसन हुन सक्छ।
२) जेनिटिक्स (वंशाणुगत)- कतिपय अवस्थामा पुरै परिवार डिप्रेसनको शिकार बन्न सक्छन् भने जुम्ल्याहाहरुमा एकमा डिप्रेसन हुँदा अर्कोमा पनि ७० प्रतिशत डिप्रेसन हुने संभावना हुन सक्छ।
३) व्यक्तित्व - कमजोर इच्छाशक्ति भएका वा कमलो मुटु भएका हरुले कुनै पनि तनाव व्यवस्थापन सजिलै गर्न सक्दैनन् र यस रोगबाट छिटै पीडित हुन्छन्।
४) वातावरणीय प्रभाव : शारीरिक तथा मानसिक हिंसा, उपेक्षा, गरिबी, आतंक आदिबाट गुज्रिएका मानिसमा पनि डिप्रेसन हुन सक्छ।
डिप्रेसन अर्थात् मानसिक समस्या भएपनि अन्य मानसिक रोगका तुलनामा उचित उपचार पश्चात छिटो निको हुने रोग हो। यसको निदानपश्चात् विशेषज्ञ मनोचिकित्सकहरूद्वारा उपचारका विभिन्न पद्धति अपनाइन्छन्। जसमा औषधिको प्रयोग, साइकोथेरापी, इलेक्ट्रो कन्भल्सिभ थेरापी आदि बढी प्रचलनमा छन्।
आफूलाई डिप्रेसनबाट बचाउन हामी आफैंंले पनि योगदान पुर्याउन सक्छौं। जस्तै- नियमित शारीरिक व्यायाम, आफ्ना नजिकका परिवार, साथीसँग मनका कुरा बाँड्नु, स्वास्थ्य खानपान खानु, मदिराजन्य पदार्थ नखानुले पनि डिप्रेसनको समस्या आउन नदिन सहयोग गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।