काठमाडौं- सरकार र डा केसी पक्षबीचको बिहीबार र शुक्रबार भएको वार्ता निष्कर्षविहीन भएपछि डा केसीको मरोस् भन्ने सरकारको नियत देखिएको आरोप लगाएको छ। शुक्रबार राती करिब ११ बजे त्रिवि शिक्षण अस्तपाल परिसरमा पत्रकार सम्मेलन गरेर डा केसी पक्षले यस्तो आरोप लगाएको हो।
'सरकारले वार्ता गरेजस्तो गरेर छलछाम मात्र पारेको गरेको देखियो। डा केसी मरे मरोस् भन्ने सरकारको नियत देखिएको छ,' डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले पत्रकार सम्मेलनमा भने।
अब डा केसी पक्षले सबै चिकित्सक तथा स्वास्थ्यकर्मीको सहयोगमा आन्दोलन चर्काउने समेत उनले चेतावनी दिए। यसबाट उत्पन्न हुने असहज परिस्थितिका लागि सरकार जिम्मेवार हुनेसमेत उनको चेतावनी छ।
शिक्षामन्त्री गरिराजमणि पोखरेलले डा केसीप्रति दुराशय राखेको, आफ्नै वार्ता टोलीसँग सम्पर्कविहीन भएको, डा केसीबारे दुष्प्रचार गरेको आरोप, डा केसीको जीवनलाई खतरामा पार्ने नियत राखेको समेत डा केसी पक्षको आरोप छ।
बिहीबार राती सकिएको वार्तामा तयार भएको सहमतिको मस्यौदाबाट पनि सरकार पछि हटेपछि वार्ता असफल भएको डा क्षेत्रीको भनाइ छ।
डा क्षेत्रीले आम नागरिकमा समेत दबाबमा उत्रन आह्वान गरेको छ।

शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ताले निष्कर्ष निकाल्ने अपेक्षा गरिएपनि अन्त्यमा निष्कर्षविहीन भएको थियो।
बिहीबार पनि सरकार र डा केसी पक्षबीच वार्ता भएको थियो। बिहीबार दुवै पक्षबीच सहमतिका लागि मस्यौदा तयार भएकाले शुक्रबार सहमति हुन सक्ने अपेक्षा गरिएको थियो।
२६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।