काठमाडौँ- थापाथलीस्थति परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बिरामीलाई ठग्न खोज्ने एक 'नक्कली डाक्टर' पक्राउ परेकी छिन्।
अस्पताल परिसरमा डाक्टरले लगाउने एप्रोन र स्टेथेस्कोप भिरेर बिरामीसँग रकम ठग्न खोजेको पाइएपछि प्रहरीले नुवाकोटकी एक युवतीलाई पक्राउ गरेको हो।
महानगरिय प्रहरी वृत्त सिंहदरबारको डिएसपी हरि बस्नेतका अनुसार आफूलाई 'डाक्टर' बताउँदै बिरामीसँग रकमको बार्गेनिङ गरेकी शनिसा भन्ने २२ वर्षकी ज्ञानी तामाङलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको हो।
उनका अनुसार पक्राउ परेकी ती युवतीले आफूले विगतमा नर्सिङ पढ्न खोजेको बताएकी छिन्। नुवाकोटको बेलकोटगढी घर भएकी ती युवती हाल असनमा बस्दै आएकी छिन्।
यसरी पक्राउ परिन्
असोज २० गते उदयपुरकी सोनिया तामाङ श्रीमानसहित प्रसूति गृहमा जाँच गराउन आएकी थिइन्। अस्पतालभित्र डाक्टरसँग आवश्यक जाँच गरेर फर्कने क्रममा उनीहरुले अस्पतालको प्राङ्गणमा एप्रोन र स्टेथेस्कोप लगाएर बसेकी नुवाकोटकी ती युवतीले उनीहरुसँग कुराकानी गर्छिन्।
माथिबाट जाँच गरेर आएको कागजपत्र माग्छिन्। सोनिया र उनका श्रीमानले अस्पताल परिसरमै एप्रोन र स्टेथेस्कोप भिरेको देखेपछि अस्पतालमै कार्यरत डाक्टर हो भन्ने ठान्दछन्। उनीहरुले जाँच गरेको सबै कागजपत्र ती युवतीलाई दिन्छन्।
ती युवतीले सबै कागजपत्र हेरेपछि भन्छिन् ल्याब परीक्षणहरु गर्नुपर्ने रहेछ। यी सबै गर्न १५ हजार जति लाग्छ। तपाईंहरु गाँउबाट आउनुभएको जस्तो छ। धेरै पैसा छैन होला। म एक ठाउँमा भन्दिन्छु। मैले चिनेको छ। तपाईंहरुलाई आधा सस्तोमा नै परीक्षण गराउँछन्। त्यहाँ पुगेपछि मेरो नाम लिनुहोला।'
सबै परीक्षणका लागि लाग्ने पैसाको आधा सस्तो हुने कुरा सुनेपछि उनीहरुले पनि सहजै विश्वास गर्छन्।
आफूहरुसँग साथमा पैसा नभएको भन्दै सोनियाका श्रीमानले किर्तीपुरमा पुगेर पैसा ल्याउने बताउँछन्। त्यसपछि उनी किर्तीपुरतिर लाग्छन्।
श्रीमान निस्केको केही समयपछि सोनियाले अस्पतालभित्रबाट जाँच गराएर फर्किएका अरुसँग कुराकानी गर्छिन्। उनले आफूले भित्र जाँच गराएर बाहिर निस्केको र अरु महिलाले जाँच गरेको उस्तै समस्याको पैसाका विषयमा पनि उनीहरुसँग कुराकानी गर्छिन्। उनीहरुसँग कुराकानी गर्दा उनको जस्तै परीक्षणका लागि बढीमा १५ सय देखि २००० भन्दा बढी नलाग्ने चाल पाउँछिन्। त्यसपछि उनी र अन्यको सहयोगमा प्रहरीलाई खबर पुग्छ।
प्रहरीले अस्पताल पुगेर बुझ्ने क्रममा नुवाकोटकी ती युवती डाक्टर नभएको र ठग्नैका लागि असपतालमा एप्रोन र स्टेथेस्कोप लगाएर बसेको पत्ता लाग्छ। त्यसपछि प्रहीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनले यसअघि पनि अरुलाई यसैगरी ठगी गरे/नगरेको विषयमा अनुसन्धान अगाडि बढाएको छ। अदालतबाछ पाँच दिनको म्याथ थप गरेर अनुसन्धान अगाडि बढाइएको डिएसपी हरि बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।