काठमाडौं- मेडिकल शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीको जीवनरक्षाको माग गर्दै दीप प्रज्वलन गरिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा शुक्रबार चिकित्सक, नर्स तथा विद्यार्थीहरूले डा केसीको जीवनरक्षाको मागमा दीपप्रज्वलन गरेका हुन्। २६ दिनयता अनसनरत डा केसीको स्वास्थ्य अवस्था निकै नै कमजोर भएको शिक्षण अस्तपालले जानकारी दिएका छन्।
२६ दिनअघि जुम्लामा अनसन सुरु गरेका डा केसी पछि काठमाडौं आएका थिए। डा केसीले सरकारले आफ्ना माग पूरा नगरेसम्म अनसन जारी राख्ने अडान लिँदै आएका छन्। डा केसीको यो १९औं अनसन हो।
डा केसी पक्ष र सरकारबीच बिहीबार वार्ता भएपनि टुंगोमा पुग्न सकेको छैन। बिहीबार करिब १० घण्टा भएको वार्तामा सहमतिका लागि पहिलो मस्यौदा तयार भएको बताइएपनि शुक्रबार त्यसमा कुनै प्रगति भएको छैन।
शुक्रबार पुनः वार्ता हुने गरी बिहीबार सकिएको वार्ता शुक्रबार साँझसम्म पनि नभएको डा केसीका तर्फबाट वार्ता टोलीका एक सदस्यले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।