मड्रिड– च्याम्पियन्स लिगको सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिखलाई समग्रमा ४–३ ले हराउँदै रियल मड्रिड लगातार तेस्रो पटक फाइनलमा पुगेको छ।
आफ्नै घरेलु मैदान एलियन्ज एरिनामा पहिलो लेगको खेलमा २–१ को हार बेहोरेको म्युनिखले गएराति वर्नबाओमा भएको खेलमा २–२ को बराबरी खेलेपछि रियललाई फाइनल पुग्ने बाटो खुलेको हो।

जितसँगै रियल च्यम्पियन्स लिगको फाइनलमा सबैभन्दा धेरै (१६ पटक) पुग्ने टिम बनेको छ। उता रियल म्यानेजर जिनेदिन जिदान आफ्नो टिमलाई लगातार तेस्रो पटक फाइनलमा पुर्याउने पहिलो म्यानेजर बन्न पुगेका छन्। यसअघि सन् १९९६ र १९९८ मा मार्सेलो लिपीले लगातार २ पटक आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका थिए।
खेल सुरु भएको तेस्रो मिनेटमै म्युनिखका लागि जोसुवा किममिचले ६ यार्डको दुरीबाट गोल गर्दै टिमलाई अग्रता दिलाए। तर त्यसको ८ मिनेटपछि मड्रिडका स्ट्राइकर करिम बेन्जिमाले मार्सेलोको क्रसमा गरेको हेड बलले गोलपोष्टको दिशा लिएको थियो।

दोस्रो हाफको पहिलो मिनेटमा नै म्युनिखका गोलकिपरले गरेको गम्भीर गल्तीको सदुपयोग गर्दै बेन्जिमाले नै रियलका लागि दोस्रो गोल गरे। तर खेलको ६३ मिनेटमा जेम्स रोड्रिगुइजले खेल बराबरीमा ल्याए।
खेलमा थप गोल गर्नका लागि म्युनिखका कोरेन्टिन टोलिसो तथा थोमस मुलरले प्रयास गरेपनि रियलको बलियो रक्षापंक्तिका कारण सफल हुन सकेन र रियलले खेल समग्रमा ४–३ गोलअन्तरले आफ्नो पक्षमा पार्यो।

अब रियलले लिभरपुल र रोमाबीचको विजेतासँग आगामी मे २६ मा उपाधीका लागि खेल्नेछ। खेल युक्रेनको किभमा हुनेछ। पहिलो लेगको खेलमा जर्गेन क्लोपको टोली लिभरपुल रोमाभन्दा ५–२ ले अघि छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।