काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले आफू सधैँ ब्राजिलियन स्ट्राइकर रोनाल्डो नाजारियोलाई हेरेर अघि बढिरहेको बताएका छन्। आफ्नो खेल जीवनमा रोनाल्डोको प्रभाव सबैभन्दा धेरै रहेको र उनको तुलनामा अरु खेलाडी नपुग्ने बेन्जेमाले बताएका हुन्।
पछिल्लो समय रियल मड्रिडमा आफ्नो छबि राम्रो बनाइरहेका बेन्जेमाले ब्राजिलियन रोनाल्डोको तारिफमा उनको प्रभाव आफूमाथि धेरै रहेको बताएका हुन्। ‘युवा उमेरदेखि रोनाल्डो मेरो आइडल हुन्। मैले फुटबल हेर्न थालेको नै उनका कारणले, उनको खेल मन परेर नै हो’ बेन्जेमाले भनेका छन्।
‘मैले रोनाल्डोले गरेको जस्तै शैली र उनको खेल पछ्याउने प्रयास गरिरहेको हुन्थेँ। तर उनी जस्तो अरु कोहि छैन। मैले उनलाई धेरै हेरेको छु। केही खेलाडीहरुसँग उनको जस्तै तीब्रता त छ तर त्यही समय बलमा नियन्त्रण र स्किल भने उस्तै देखिँदैन’ उनले भने।
रोनाल्डोको गोल मात्र देखिने भए पनि उनले मैदानमा त्यसबाहेक ठूलो भूमिका पूरा गरिरहेको बताउँदै बेन्जेमा भन्छन्, ‘गोल गर्ने मात्र होइन, स्ट्राइकरका लागि मैदानमा गर्नुपर्ने काम धेरै हुन्छन्। त्यसका लागि रोनाल्डो सबैभन्दा राम्रा उदाहरण हुन्। मैले उनको खेलबाट र जिदानको खेलबाट धेरै कुरा सिकेको छु।’
‘म रियल मड्रिडमा आबद्ध हुँदा निकै खुसी भएको थिएँ। तर मानसिक रुपमा म पूर्ण तयार थिइनँ। त्यसअघि लियोनमा हुँदा मलाई त्यति धेरै दबाब महसुस भएको थिएन। रियल मड्रिडको धेरै युरोपियन उपाधि र स्टार खेलाडीका कारण पनि दबाब महसुस भएको थियो’ उनले भने।
‘त्यो समय स्पेनिस बोल्न नसक्ने भएकाले पनि कठिन भएको थियो। पहिलो वर्ष त साह्रै मुस्किल भयो। मैदान बाहिरका कुराहरुले पनि मैदानमा हुने खेल प्रदर्शनलाई असर गरिरहेको हुन्छ’ उनले भने।
त्यही समय रियल मड्रिड छाडेर अरु क्लबमा जाने सोचिरहँदा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेज आफ्नो घरमा नै आएर कुराकानी गरेपछि मड्रिडमा नै बस्ने सोचमा पुगेको उनले बताएका छन्। अहिले आफूलाई रियल मड्रिड अध्यक्ष जिनेदिने जिदानले पनि राम्रो सहयोग गरिरहेको उनले बताएका छन्।
गएको सिजन ला लिगाको उपाधि जितेको मड्रिडमा बेन्जेमाले ४८ खेलमा २७ गोल र ११ असिस्ट गरेका थिए। यो सिजन उनले चार खेलमा एक गोल र एक असिस्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।