काठमाडौं– इंग्ल्यान्डले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा वेल्सलाई पराजित गरेको छ। इंग्ल्यान्डले वेल्सलाई ३–० गोलले पराजित गरेको हो।
बिहीबार राति भएको खेलमा घरेलु टिमको जितमा डोमिनिक कल्भर्ट लेविन, कोनर कोएडी र डेनी इङ्सले गोल गरे। खेलको २६ औं मिनेटमा हेडर गोल गर्दै डोमिनिकले इंग्ल्यान्डलाई अग्रता दिलाए। इंग्ल्यान्डको राष्ट्रिय टिमबाट डेब्यु खेलमा नै डोमिनिकले गोल गरेका हुन्।
पहिलो हाफमा एक गोलको अग्रता बनाएको इंग्ल्यान्डले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निकालेको हो। खेलको ५३ औं मिनेटमा कोएडीले गोल गर्दै इंग्ल्यान्डलाई २–० गोलको अग्रता दिलाए। खेलको ६३ औं मिनेटमा डेनीले गोल गर्दै इंग्ल्यान्डलाई ३–० गोलको जित दिलाए।
त्यस्तै, बिहीबार राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा इरानले उज्बेकिस्तानलाई २–१ गोलअन्तरले पराजित गरेको छ। त्यस्तै, बेल्जियम र आइभेरी कोष्टले १–१ गोलको बराबरी खेल्दा रसियालाई स्वीडेनले २–१ गोलअन्तरले पराजित गरेको छ। नामिबिया र दक्षिण अफ्रिकाले भने १–१ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।