काठमाडौं- चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा गोविन्द केसी पक्ष र सरकारी टोलीबीचको वार्ता आज (बिहीबार)का लागि सकिएको छ। शुक्रबार पुनः बस्ने गरी आजका लागि वार्ता सकिएको डा केसीका तर्फबाट वार्तामा सहभागी एक जना सदस्यले जानकारी दिए।
सिंहदरवारस्थित शिक्षा मन्त्रालयमा भएको वार्तामा डा केसीले उठाएका मागका विषयमा छलफल भएको थियो।छलफलले डा केसीका ६ बुँदे मागलाई बुँदागत रुपमा सम्बोधन गर्ने गरी पहिलो मस्यौदा तयार पारेको बताइएको छ। तर अन्तिम निष्कर्षमा भने पुग्न नसिकएको ती सदस्यले बताए।
वार्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपिनाथ मैनालीको संयोजकत्वमा र डा केसीको पक्षबाट डा जीवन क्षेत्रीको नेतृत्वको टोलीले वार्ता गरेको हो।
बिहीबार दिउँसो केही बेर ब्रेक गरी वार्ता जारी राखिएको थियो। बिहीबार नै सहमतिमा पुग्ने प्रयास गरिएपनि दुवै पक्षले थप छलफल आवश्यक परेको भन्दै शुक्रबार पुन बस्ने गरी वार्ता सकिएको बताइएको छ।
डा केसी अनसन बसेको २५औं दिनमा सरकारले वार्ता सुरु गरेको हो। बुधबार दुवै पक्षले वार्ता टोली गठन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।