काठमाडौं- उपभोग्य मिति सकिएका खाद्य वस्तुमा ‘रिलेबलिङ’ गर्ने विभिन्न तीनवटा कम्पनीका संचालक, कर्मचारी र कामदारसहित ११ जनालाई प्रहरीले थुनामा राखेपनि त्यही प्रकृतिको कसुर गरेको अर्को कम्पनी अमेजन डिस्ट्रिब्युटर्सका संचालकहरुलाई भने उन्मुक्ति दिइएको छ।
अहिले आयान डिस्टिब्युटर्स प्रालिका संचालन रौनक बोथ्रा, एएसटी कम्पनीमा संचालक प्रबिन कुमार बम्कासहित ७ जना र जोडिक मार्केटिङ प्रालिका ३ जना गरी ११ जना प्रहरी हिरासतमा छन्। तर यही प्रकरणमा जोडिएको अमेजन डिस्टिब्युटर्सका संचालकहरुलाई भने वाणिज्य विभाग र प्रहरीले हिरासतमा लिएको छैन।
यद्यपि यो कम्पनीका संचालकहरु विभागको सम्पर्कमा रहेको र उनीहरुले आफ्नो व्यवसायसँग सम्बन्धित कागजातहरुसमेत विभागमा बुझाएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले असोज १५ गते कलंकीबाट ठूलो संख्यामा खाद्य वस्तुमा रिलेबलिङ गर्ने २ कम्पनीमा छापा मारेका थियो। उपभोग्य मिति सकिएर नष्ट गर्नुपर्ने वस्तुलाई रिलेबलिङ गरेर बजार पठाउने काममा आयान डिस्टिब्युटर्स र अमेजन डिस्टिब्युटर्सको संलग्नता देखिएपनि प्रहरी प्रशासन र वाणिज्य विभागले अमेजनलाई कारबाहीको दायरामा नल्याई उन्मुक्ति दिएको छ।
वाणिज्य विभागका प्रवक्ता रविन्द्र आचार्य अमेजनका संचालकहरु विभागको सम्पर्कमा आर्ईसकेको र यो मुद्दामा थप अनुसन्धान चलिरहेको बताउँछन्। आयान डिस्टिब्युटर्स प्रालिमा छापा हान्ने क्रममा नै प्रहरी र विभागको टोलीले खाद्य वस्तुको रिलेबलिङमा अमेजन डिस्टिब्युटर्स पनि जोडिएको थाहा पाएको थियो। उक्त कम्पनीको गोदाममा शिल गरेपनि यसका संचालकहरु भने पक्राउ परेका छैनन्।
व्यवसायिक घराना विशाल ग्रुपसँग जोडिएका यी दुवै कम्पनीको मुद्दामा अमेजन डिस्ट्रिब्युटर्सलाई छायाँमा पारी आयान डिस्टिब्युटर्सका संचालक र कर्मचारीलाई मात्रै थप अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएको छ। त्यस्तै आयान डिस्टिब्युटर्सको हकमा पनि संचालक भारतीय नागरिक देखाएर नेपाली व्यापारी पुष्पादेवी अग्रवाललाई धरौटीमा छाडिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।