काठमाडौं- पछिल्लो सयम जार र बोतलको पिउने पानीका उपभोक्ता ठगिएका गुनासा बढ्न थालेका छन्। जारको पनि महंगो मूल्यमा बेच्ने गरेको, पानीमा किरा/लेउ भेटिने गरेको, चुहिने र फोहोर जारमा पानी बेचेको लगायतका गुनासा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आउन थालेका हुन्।
विभागले गत साउन र भदौ महिनामा पिउने पानीका उद्योगहरुमा अनुगमनलाई तिब्र बनाएको थियो। त्यसबेला करिब ४ दर्जन पानी उद्योगहरु कारबाहीमा पनि परेका थिए। तर पछिल्लो समय विभागको अनुगमन अरु क्षेत्रमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेका हुन।
वाणिज्य विभागका प्रवक्ता रविन्द्र आचार्यका अनुसार पिउने पानीको मूल्य र गुणस्तर दुवैमा उपभोक्ताले गुनासो गर्ने गरेका छन। ‘पानीमा ठगिएका गुनासो पछिल्लो समय बढेका छन। यस्ता गुनासो मूल्य र गुणस्तरसँगै छन। हामी चाँडै अनुगमन शुरु गर्छौ‚’ उनले भने। विभागले पानी उद्योग र वितरक हरुसँग सम्बन्धित सूचनाहरु संकलन गरिरहेको र अब केही दिनभित्रै स्ट्रिङ अपरेसनमा जाने आचार्यको भनाइ छ।
जार र बोतलको पानीको मूल्यको हकका वाणिज्य विभागले गत भदौ १० गतेबाट लागुहुनेगरी मूल्य तोकेपनि संसदीय समितिको हस्तक्षेपपछि उक्त मूल्य कार्यान्वयनका आएको छैन। तुलनात्मक रुपमा बजार मूल्यभन्दा बढी अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकिदिएपछि विभागको उक्त निर्णय विवादमा आएको थियो।
तर अहिले पानी व्यवसायीहरुले पानीको मूल्य बढाउन थालेका छन। प्रतिस्पर्धी बजारमा प्रतिजार ३० देखि ४० रुपैयाँमा बिक्री वितरण भइरहेकोमा व्यापारीहरुले अहिले मूल्य बढाएर प्रतिजार ५० देखि ६० रुपैयाँसम्म बनाएका छन्।
पछिल्लो समय विभागले दशै तिहारलगायत चाडबाड लक्षित बजार अनुगमन गरिरहेको छ। जसमा खाद्यान्न, लत्ताकपडाजस्ता क्षेत्रमा विभागको अनुगमन केन्द्रित छ। दैनिक ३ देखि ५ वटासम्म अनुगमन टोली बजार अनुगमनमा खटिने र औसत दैनिक २ दर्जन व्यवसायिक फर्ममा अनुगमन भइरहेको भएपनि क्षेत्रगत रुपमा विभागको अनुमगन पर्याप्त र प्रभावकारी छैन।
उपभोक्ताको गुनासो आएपछि गत साउन‚ भदौमा पानीमा केन्द्रित बजार अनुगमन भएको थियो भने त्यो बेला गुनासो पनि कम आउने गरेका थिए। तर अहिले विभागको अनुगमन अर्कै विषयमा केन्द्रित भएपछि फेरि पानीमा उपभोक्ता ठगिएको गुनासो आउन थालेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।