काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पार्चुगल र स्पेनले बराबरी खेलेका छन्। बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगल र स्पेनले गोल रहित बराबरी खेलका हुन्।
५० हजार दर्शक क्षमता भएको जोसे अल्भालेड रंगशालामा २५ सय दर्शकसहित खेलाइएको खेलमा दुवै टिमले गोल गर्न सकेनन्। सन् २०१८ को विश्वकपको समूह चरणमा स्पेन र पोर्चुगलबीच भएको खेलमा ३–३ गोलको बराबरीमा सकिएको थियो। त्यसबेला कप्तान क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गोल गरेका थिए। पोर्चुगलबाट अन्तर्राष्ट्रिय फुटबलमा १०१ गोल गरेका रोनाल्डोले यो मैत्रीपूर्ण खेलमा भने स्पेनविरुद्ध गोल गर्न सकेनन्।
त्यस्तै, अर्को मैत्रीपूर्ण खेलमा जर्मनीले टर्कीसँग ३–३ गोलको बराबरी खेलेको छ। ३–२ गोलको अग्रता बनाएपनि खेलको अन्तिम समयमा जोगिन नसक्दा जर्मनीले टर्कीसँग ३–३ गोलको बराबरी खेलेको हो।
मैत्रीपूर्ण अन्य खेलमा पोल्यान्डले फिनल्यान्डलाई ५–१ ले, मेक्सिकोले नेदरल्यान्ड्सलाई १–० ले, क्रोसियाले स्वीट्जरल्यान्डलाई २–१ ले, स्लोभेनियाले सान मारिनोलाई ४–० ले, अस्ट्रियाले ग्रिसलाई २–१ गोलअन्तरले पराजित गरेका छन्। त्यस्तै, चेक रिपब्लिकले साइप्रसलाई २–१ ले, डेनमार्कले आइसल्यान्डलाई ४–० ले, लिथुनियाले एस्टोनियालाई ३–१ ले र माल्टाले गिब्राल्टारलाई २–० गोलअन्तरले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।