ताप्लेजुङ- ताप्लेजुङ्ग जिल्लाको फक्तालुङ्ग गाउँपालिका- ७ स्थित ओलाङचुङगोलामा सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराई, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल, गृह मन्त्रालयका उपसचिव भुपेन्द्र सापकोटालगायत सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ अधिकृतहरू त्यस ठाउँमा गई असोज २१ गते उक्त बिओपीको स्थापना गरेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गुल्म ताप्लेजुङ्ग मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरी पैठारी निकासी
नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारबाहीहरूमा परिचालित हुनेछ।
सिमानाका भन्दा १२ किलोमिटर वर कञ्चनजंगा संरक्षण परिषद्को दुईवटा दुईतले घरमा स्थापना गरिएको उक्त बिओपीले बुधबारबाट दैनिक कार्य सुचारु गरेको छ।
सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा आवश्यक बन्दोवस्तीका सामानसहित सो गुल्मबाट त्यसतर्फ खटिएको उक्त टोली यही असोज १८ गते बेलुका त्यसठाउँमा पुगेको हो।
यसैगरी बुधबार उनीहरुले संखुवासभाको किमाथांकामा पहिले नै स्थापना भएको बिओपिको नयाँ निर्माण हुने भवनको शिलान्यास समेत गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।