काठमाडौं- नेपाल चिकित्सक संघले असोज २३ गते आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न निर्णय गरेको छ। शुक्रबार २ घण्टा आकस्मिक र कोभिडबाहेकका सबै सेवा प्रवाह बहिष्कार गर्ने र सो सयममा पनि डा केसीका माग पूरा नगरे २३ गते दिनभर आकस्मिक बाहेकका सेवा बहिष्कार गर्ने निर्णय गरेको हो।
२४ दिनयता अनसनरता डा गोविन्द केसीका माग पूरा गर्न र उनको जीवनरक्षाको माग गर्दै आकस्मिक र कोभिडबाहेकका सेवा प्रवाहलाई बहिष्कार गर्ने निर्णय संघले गरेको जानकारी दिइएको छ।
डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको तर सरकारले अनसनको २४ दिन बित्दा पनि कुनै चासो व्यक्त नगरेको भन्दै संघले विरोधस्वरुप सेवा प्रवाह बिहिष्कार गर्न लागेको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ।
यसका साथै २२ गतेपछि कालो पट्टी बाँधेर सामाजिक सुरक्षाका उपाय अपनाउँदै रिले अनसन जारी राख्नेसमेत संघले तय गरेको छ।
डा केसीका माग पूरा गर्नभन्दा उनको अनसन तोडाउने पक्षमा सरकार रहेको देखिन्छ। सरकारका तर्फबाट पहिलोपटक मंगलबार शिक्षा सचिवले डा केसीसँग भेट गरी अनसन स्थगित गर्न आग्रह गरेका थिए। तर डा केसी आफ्ना माग पूरा नगरुन्जेल अनसन नतोड्ने अडानमा छन्।
त्रिवि शिक्षण अस्तपालमा अनसन जारी राखेका डा केसीको स्वास्थ्य अवस्था एकदमै कमजोर भएको र शरीरमा अक्सिजनको मात्रा घटेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। उनलाई जुनसुकै बेला पनि खतरा हुन सक्ने अस्पतालको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।