काठमाडौं– जंगली जनावर चित्तलको शिकार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का २३ वर्षीय सामेल रोका र नेपालगञ्ज उपमहानगरपालिका–६ का २८ वर्षीय अन्जन हमाललाई प्रहरीले मारेको चित्तलसहित पक्राउ परेको हो ।
गए राति साढे ९ बजे राप्तीसोनारी गाउँपालिका–६ कुण्डाचोक जंगलमा चित्तल मारेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको र अस्थायी प्रहरी पोष्ट फत्तेपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
डुडुवा गाउँपालिका– ४ राप्तीनदी पुलमा फत्तेपुरबाट नेपालगञ्जतर्फ आउँदै गरेको सामेलले चलाएको भे ८ प ५४६५ नम्बरको मोटरसाइकलको बीचमा चित्तल राखेर पछाडी अन्जन बसेका थिए। बोरामा प्याक गरेर बोकेको अवस्थामा बरामद भएको उक्त चित्तल अन्दाजी २५/२६ किलो जतिको रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (क) बमोजिमको १० लाख सम्म जरिवाना र ५ वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।
उनीहरुले उक्त चितल जिल्ला बाँके राप्तीसोनारी–६ ढलैया वस्ने रामु वलीबाट ११ हजारमा किनेर ल्याएको बयान दिएका छन् । रामु वलीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।