काठमाडौं– पेरिस सेन्ट जर्मेन (पिएससी) का पूर्व स्ट्राइकर इडिन्सन काभानी इंग्लिस क्लिब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन्।
युनाइटेडले काभानीलाई आफ्नो क्लबमा अनुबन्धित गरेको जानकारी दिएको हो। उरुग्वेका ३३ वर्षीय काभानी युनाइटेडमा आबद्ध हुन आइतबार मात्रै इंग्ल्यान्ड प्रस्थान गरेका थिए। एक वर्षका लागि काभानीलाई भित्र्याएपनि पारिश्रमिक बारे खुलाइएको छैन।
फ्रेन्च क्लब पिएसजीसँग काभानीको सम्झौता गत जुनमा सकिएको थियो। काभानीले सम्झौतापछि विश्वकै उत्कृष्ट क्लब भएको बताएका छन्। उनले भनेका छन्, ‘म्यानचेस्टर युनाइटेड विश्वकै उत्कृष्ट क्लबहरुमध्ये एक हो। यो अवधिमा म राम्रो प्रदर्शन गर्दै सबैलाई जितको महसुश गराउने छु।’
काभानीले ५५६ क्लब खेलमा कूल ३४१ गोल गरेका छन्। उनले पिएसजीका लागि मात्रै ३०१ खेलमा २०० गोलको रेकर्ड राखेका छन्। उनले उरुग्वेका लागि भने ११६ अन्तर्राष्ट्रिय खेलबाट ५० गोल गरेका छन्।
प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले न्युक्यास्टल युनाइटेडसँग १७ तारिखमा खेल्दैछ। उनको म्यानचेस्टर युनाइटेडका लागि पहिलो खेल हुनेछ। त्यस्तै, च्याम्पियन्स लिगको समूह चरणमा म्यानचेस्टर युनाइटेडले काभानीकै पूर्व क्लब पिएसजीसँग २१ अक्टोबरमा खेल्ने तालिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।