काठमाडौं- प्रदेश पाँचका आन्तरिमक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले प्रजातान्त्रिक पार्टी कांग्रेसलाई आफ्नो इतिहासको भद्दा मजाक नगर्न आग्रह गरेका छन्। आफैंले पेश गरेको स्थायी राजधानी र नामका विषयमा निर्णयार्थ पेश भएपछि सबै प्रतिनिधिले बोलेपछि जवाफ दिनेक्रममा केसीले संसदीय अभ्यासमा विपीलाई समेत गिज्याउने काम भएको बताए।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले स्थायी राजधानी दाङ देउखुरीको भालुवाङ र लुम्बिनी प्रदेश जबर्जस्ती अघि बढाउन खोजेपछि कांग्रेसका सांसदहरूले नाराबाजी गरेर सभा अवरोध गर्न खोजेको थिए।
‘संसदीय अभ्यासमा शायद विपीलाई पनि गिज्याउने काम भएको छ। कांग्रेसका साथीहरुलाई ऐतिहासिक परम्परा कायम गर्न अपिल गर्दछु। प्रदेश सभाको विशेष समितिले पेश गरेको कागजपत्र सार्वजनिक गर्दछु‚’ केसीले भने, ‘प्रदेशका विज्ञ र समितिका तर्फबाट तयार गरेको प्रतिवेदन पढेर सुनाउन चाहन्छु। आवेगले होइन विवेक लगाएर काम गर्नुस्।’
विरोध गरिरहेका कांग्रेस सांसदहरूलाई लक्षित गर्दै केसीले प्रजातन्त्रको भद्दा मजाक नगर्न आग्रह गरे। ‘प्रजातन्त्रको मजाक नगर्नुस्। इतिहासमा धेरै मान्छे धुलो पिठो भएका छन्। तपाईंहरूले मर्यादा कायम गर्नुस्‚’ केसीले भने, ‘सभामुखमाथि हातपात गरेर निर्लाज्जा देखाउनुभएको छ। तपाईंले द्वन्द्व चाहेको हो कि इतिहास निर्माण गर्न चाहेको हो?’
त्यसैक्रममा स्थायी राजधानी दाङको भालुवाङ र लुम्बिनी प्रदेश बहुमतले पारित हुने केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।