काठमाडौं- स्पेनिस ला लिगामा बार्सिलोना र सेभियाबीचको खेल १–१ को बराबरी भएको छ। पहिलो हाफको आठौँ मिनेटमा लुक डि योङको गोलमा सेभियाले बनाएको अग्रता बार्सिलोनाका फिलिप कोउटिन्होले दशौँ मिनेटमा नै बराबरी गरे, त्यसपछि खेलमा गोल हुन सकेन।
दुवै टिमले लिगमा समान तीन खेल खेल्दा दुवै अपराजित छन्। दुवै टिमको ७ अंक भए पनि गोल भिन्नताका आधारमा बार्सिलोना सेभियाभन्दा अघि छ। बार्सिलोनाको बराबरीले यसअघि नै एक खेल बराबरी खेलिसकेको रियल मड्रिडलाई पनि राहत भएको छ। मड्रिड ४ खेलमा १० अंकसहित शीर्षमा छ।
बार्सिलोना र सेभिया दुवै टिमले दोस्रो हाफको अन्त्यसम्म पनि केही राम्रा अवसर खेर फाले। बार्सिलोनाका जोर्डि अल्वा घाइते हुँदा भर्खरै क्लब ल्याइएका सर्जिनियो डेस्टले समेत मैदान जाने अवसर पाए। अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि हुने विश्राम पछि लिगका खेलहरु दुई हप्तामा सुरु हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।