काठमाडौं- इंग्लिस प्रिमियर लिगमा विजेता लिभरपुल एस्टन भिलासँग ७–२ ले हारेको छ। एस्टन भिलाका लागि ओले वाट्किन्सले पहिलो हाफमा नै ह्याट्रिक हान्दा लिभरपुल लगातार दबाबमा देखियो।
खेलको चौथो मिनेटमा नै वाट्किन्सको गोलमार्फत एस्टन भिलाले अग्रता बनाएको थियो। २२औँ र ३९औँ मिनेटको गोलले उनले ह्याट्रिक पूरा गरे। पहिलो हाफमा नै एस्टन भिलाका लागि म्यागिनले ३५औँ मिनेटमा गोल गरे भने लिभरपुलका सलाहले ३३औँ मिनेटमा गोल गरेका थिए।
पहिलो हाफमा नै ४–१ मा पछि रहेको लिभरपुल दोस्रो हाफमा पनि सम्हालिन सकेन। खेलको ५५औँ मिनेटमा बार्कलेको गोलमा एस्टन अघि बढिरह्यो। ६०औँ मिनेटमा सलाहले नै लिभरपुलका लागि दोस्रो गोल गरे। तर ग्रेलिसले ६६औँ र ७५औँ मिनेटमा गोल गर्दा एस्टन भिला ७–२ ले विजयी भयो।
लिभरपुलले सन् १९६३ पछि ७ गोल खाएको हो। जहाँ २०१९ को जनवरी ३ पछि यो लिभरपुलको प्रिमियर लिगमा चौथो हार मात्र हो। गएको सिजन रेलिगेसनबाट मुस्किलले जोगिएको एस्टन भिलाले यो सिजन खेलेका तीन खेल नै जितेको छ।
आइतबार राति नै टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई ६–१ ले हराउँदा लागिरहेको अविश्वसनीय नतिजालाई बिर्साउने गरी लिभरपुलले हार भोगेको हो। यसैले लिभरपुल प्रशिक्षक योर्गेन क्लोपले आफूहरुले कीर्तिमान बनाउने बारे सोचिरहेको भए पनि यो उल्टो कीर्तिमान भनेको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।