काठमाडौं– डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा तेस्रो जित निकालेको छ। रियलले लेभान्टेलाई २–० गोलअन्तरले पराजित गरेको हो।
लेभान्टेको मैदानमा रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जिमाले गोल गरे। खेलको १६ औं मिनेटमा लुका मोड्रिचले प्रहार गरेको कर्नर बललाई जाली चुमाउँदै भिनिसियसले रियललाई अग्रता दिलाए। उनकै गोलमा रियलले लेभान्टेविरुद्ध पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो।
अतिरिक्त समयमा बेन्जिमाले गोल गर्दै रियललाई २–० गोलको जित दिलाए। ला लिगामा आफ्नो पहिलो खेलमा रियल सोसाइडेडसँग गोलरहित बराबरी खेलेको रियलले आफ्नो दोस्रो खेलमा रियल बेटिसलाई ३–२ ले र तेस्रो खेलमा भालाडोलिडलाई १–० गोलले पराजित गरेको थियो।
४ खेलबाट रियलले १० अंक बनाउँदै शीर्ष स्थानमा रहँदा पराजित लेभान्टेको भने चार खेलबाट तीन अंकमात्रै छ।
त्यस्तै, आइतबार नै भएका अन्य खेलमा अलाभेसले एथ्लेटिको विलबाओलाई १–० गोलअन्तरले पराजित गर्दा ओसासुनाले सेल्टा भिगोलाई २–० गोलअन्तरले पराजित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।